१८ असार, हुम्ला, ।
हुम्लाको सदरमुकाम सिमकोटबाट आठ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ । बुधबार विहान बागेश्वरी विद्यालयको खेलमैदान बनाउने क्रममा ढुंगाको तलपट्टी दुईवटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । विद्यालय अगाडिको खेलमैदानलाई स्थानीयले मर्मत गर्ने क्रममा सकेट बम फेला परेको हो ।
दोजाम प्रहरी चौकीका सहायक निरीक्षक चिन्तामणि पोखरेल नेतृत्वको टोली ताक्लाको उक्त विद्यालय पुगेको छ, भने त्यहाँ दुई वटा पूराना सकेट बम भेटिएको बताएको छ । बम डिस्पोज टोली नपुगिन्जेलसम्मका लागि बम भेटिएको क्षेत्रमा स्थानीयलाई आवत–जावतमा रोक लगाइएको छ ।
सदरमुकाम सिमकोटबाट बम डिस्पोज गर्न जानको लागि करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताइएको छ । जसको कारण नेपाली सेनाको डिस्पोज टोली विहीबार मात्र घटनास्थल तर्फ जाने प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले बताउनुभयो ।
बुधबार बिहान भेटिएको यस सकेट बम तत्कालीन संकटकालमा आन्दोलकारीहरुले लुकाएर राखेको हुन सक्ने आँकलन गरिएको छ ।