
१९–असार, देबचुली
खगेन्द्र पराजुली
धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजनामा २ महिने मुढा बुुनाई तालिमको समापन भएको छ । देवचुली नगरपालिका स्तरीय तालिममा देबचुलीका ५ वटा वडाका सहभागीहरुले तालिममा सहभागिता जनाएको धौलागिरी अपाङ्ग संस्थाका अध्यक्ष बिष्णु प्रसाद काफ्लेले बताउनुभयो । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको अनुदान सहयोगमा देबचुली १० स्थित मिलन समाज केन्द्रको भवनमा सञ्चालित तालिमको आज ९बिहिवार० एक कार्यक्रमका साथ समापन भएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएको देबचुली नगरपालिका वडा नमवर १० का वडाध्यक्ष केशर आलेले बोल्नुहुदै तालिम कार्यक्रमले सहभागीहरुको आर्थिक बिकासमा टेवा पुर्याउने भन्दै यहाँबाट सिकेको सीपलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडाध्यक्ष आलेले अपाङ्गले पनि सामान्य मानिस सरह काम गर्न सक्छन् भन्ने प्रमाणित गरेर समाजलाई देखाइदिन हौसला प्रदान गर्नुभएको थियो ।
पूर्ण अपाङ्गता भएका र पूर्ण दृष्टिबिहिन बाहेकका २२ जना सहभागीलाई प्रदान गरिएको तालिम अन्तर्गतको मुढा बुनाई सीपमुलक कार्यक्रम घरमै बसेर गर्न सकिने हलुका काम भएकाले बिभिन्न खाले अपाङ्गता भएका ब्यक्तिका लागी प्रभावकारी रहेको बताउँदै संस्थाका अध्यक्ष काफ्लेले तालिममा सिकेको सिपलाई सहभागिले आफ्नो आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो ।
तालिममा २ महिनासम्म निरन्तर प्रशिक्षकको रुपमा रहनुभएका हर्ख बहादुर मानन्धरले ब्यवसायकै रुपमा उत्पादन गर्ने लक्ष्यका साथ काम गर्ने हो भने दैनिक २ वटासम्म मुढा तयार गर्न सकिने हुदाँ यसको बजार ब्यवस्थापनका निम्ति स्थानीय सरकारले चासोका साथ पहल गरिदिने हो भने सहभागीको आत्मनिर्भरतामा मदत पुग्ने बताउनुभयो । तालिम अवधिभर हर्ख बहादुर मानन्धर र राममाया रानाले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागी २२ जनालाई प्रमुख अतिथि आलेले प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । समापन कार्यक्तममा मिलन सेवा केन्द्रका अध्यक्ष यमप्रसाद सापकोटा, महाराजा सामुदायिक बनका पुर्ब अध्यक्ष एवं सल्लाहकार दशरथ भुसाल, धौलागिरी अपाङ्ग उत्थान संस्थाका लेखा संयोजक यदुनाथ काफ्ले, मिलन आमा समुहकी अध्यक्ष सीता पौडेल, देबचुली १० गाउँ घर क्लिनिक तथा स्वास्थ्य स्वयं सेविका सुमित्रा सापकोटा, अपाङ्गता उत्थानका निम्ति क्रियाशील कमला भुसाल लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बिष्णुप्रसाद काफ्लेले गर्नुभएको थियो भने सञ्चालन बिज्ञान भुसालले गर्नुभएको थियो ।
२ महिनासम्म सञ्चालित तालिम गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक बिकास मन्त्रालयको ५ लाख रुपैयाको आर्थिक अनुदान सहयोगबाट सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ ।