
भिम भुसाल, देवचुली ।
वातावरण संरक्षण ऐन नियमावली तथा प्रचलित कानुन बमोजिम राज्यले लागु गरेको कानुन नगरपालिका बाटै कार्यान्वयन नभएको भन्दै देवचुली नगरपालिकामा चर्को बिरोध भएको छ । बुधवार देवचुली नगरपालिका ७ सेन्ट्रल प्लट खेल मैदानमा जेसिबी चल्दै गर्दा ट्रयाक्टर ब्यवसायीले काम गर्न नदिएर बिरोध जनाएका हुन् । नगरपालिकाले नगरभित्र रहेका ट्रयाक्टर तथा जेसिबीले असार,साउन र भदौ महिनामा उत्खनन र ओसारपसार गर्न नपाउने नियमलाई जनतामा मात्रै लागु गर्न खोजेको भन्दै ब्यवसायीहरु आक्रोसित भएका छन् ।

राज्यको कानुन जनतामा मात्रै लागु हुने नगरले कार्यान्वयन गर्नु नपर्ने अवस्थाको निमार्ण भएको भन्दै देवचुली ट्रयाक्टर ब्यवसायी समितिका सचिव ओमराज अधिकारीले गुनासो गर्नुभयो ।
तर देवचुली नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भुपराज पाठकले भने सामाजिक कार्यमा बिरोध गर्नु आवश्यक नरहेको बताउनुभएको छ । खेल मैदानको उत्तर र पश्चिम भेगबाट बारम्बार पहिरो खस्ने समस्याले गर्दा स्लोप निमार्णको काम नगरपालिकाको तर्फबाट गरीएको जानकारी दिनुभएको छ । नगरको जेसिबी काम नभएर रोकिएको अवस्थामा रहदा सामाजिक काममा सदुपयोग गरीएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
यता ३ दिन अघि मात्रै देवचुली नगरपालिकाले कानुन बिपरीत अबैध रुपमा ढुंगा उत्खनन गर्ने ट्रयाक्टर र जेसिबीलाई कारवाही गरेको थियो । नगरपालिकाले नगरभित्रका नदि,खोला,निजि तथा सार्वजनिक एवं सरकारी जग्गाबाट अवैध रुपमा ढुंगा,गिटी बालुवा उत्खनन र ओसारपसार गरेको भन्दै प्रति ट्रयाक्टर दुई हजार रुपैयाँ र जेसिबीलाई पाँच हजार रुपैयाँ गरि एघार हजार रुपैयाँ जरिवाना गरेको थियो ।