
भिम भुसाल,
देवचुली । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकामा २ दिने ब्यवसायिक कागती खेती तालिम सञ्चालन हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम अन्र्तगत देवचुली नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने कृषक तथा उद्यमिहरुको लागी कागती खेती तालिम सञ्चालन हुने भएको हो ।

नगरपालिकाले भाद्ध २ गते सुचना प्रकाशित गर्दै तालिम लिन ईच्छुक कृषक तथा उद्यमिहरुलाई ७ दिन भित्र नगरपालिकाको कृषि विकास शाखामा निवेदन पेश गर्न जानकारी गराएको छ । कागती खेती गर्दैआएका तथा ईच्छुक कृषक तथा युवा उद्यमिहरुहरुलाई निवेदन सहित ब्यवसाय दर्ता भएमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, समुह सहकारीबाट भएमा बैठकको निर्णयको प्रतिलिपी, तालिम पश्चात ब्यवसायीक खेती गर्ने प्रतिबद्धता पत्र नगरपालिकाको कृषि विकास शाखामा उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
पछिल्लो समय देवचुली नगरपालिका क्षेत्रमा ब्यवसायिक कागती खेती तर्फ कृषकहरु आकर्षण भैरहदा नगरपालिकाले कृषक लक्षित तालिमको आयोजना गरेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । कागती खेतीका लागी माटो टेष्ट गर्नुपर्ने, मासिक सिँचाई, विरुवाको प्रकृती, औषधी तथा टेक्निकल विषयमा पनि कृषकहरुलाई जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरीएको अधिकृत भुसालले बताउनुभयो । निवेदन वडा कार्यालय, देवचुली नगरपालिका कार्यालय तथा रजहरमा रहेको कृषि विकास शाखामा उपलब्ध गराउन सकिने नगरपालिकाले जानकारी दिएको छ ।