
सुरेश विष्ट, गैडाकोट ।
घरको भान्सा कोठामा मृत भेटिएकी ६८ वर्षीया वृद्धाको हत्या उनको गहना लुट्ने योजनाका साथ भएको खुलेको छ ।

गत २४ गते मंगलबार नवलपरासी पूर्व गैडाकोट नगरपालिका–१५ की ६८ वर्षीय भुमा देवी खत्रीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । हत्यामा संलग्न रहेका खोटाङ घर भई हाल गैडाकोट–८ बस्ने ३६ वर्षीय अर्जुन खड्का, खड्काकी श्रीमती ३५ वर्षीय मीना खड्का, तनहुँ घर भई हाल गैडाकोट–१५ बस्ने ४५ वर्षीय बसन्त कुमार बराल र उनकी श्रीमती ४३ वर्षीय कमला बराललाई पक्राउ गरेको बिहीबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय नवपुरका एसपी मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
उनका उनुसार बिहान ८ः३० बजे घरको भान्सा कोठामा पसेका व्यक्तिहरुले लुट्ने क्रममा ति महिलाको हत्या गरेको र उनले लगाएको सिक्री, लकेट, रिङ लुटेर भागेका थिए । बिहानको घटना भएपनि घरमा एक्लै बसेकी वृद्धालाई छिमेकीले राति अवेरसम्म नदेखेपछि भित्र पुगेर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति खबर प्राप्त भएपछि एसपीको कमाण्डमा खटिएको टोलीले २४ घण्टा भित्र पक्राउ गर्न सफल भएको हो । प्रारम्भिक वयानमा उनीहरुले आफुहरु ज्यान मार्ने नभई गहना लुट्ने योजनाका साथ गएको तर लुट्ने क्रममा धारिलो गिलासले घाँटीमा लाग्दा मृत्यु हुन पुगेको स्विकार गरेको पोखरेलको भनाई थियो ।
पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान र डाँका मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । गत जेठ महिनामा सरुवा भएर नवलपुर पुगेका पोखरेल प्रहरी भित्र स्वच्छ छविको रुपमा चित्रण भएका व्यक्तिको रुपमा परिचित छन् । उनले नवलपुर प्रमुख भएर गएको छोटो समायमा नै लागू औषध नियन्त्रण, जुवातास, अवैध गाँजा फडानी, होटलहरुमा हुने अवैध गतिविधि तथा पछिल्लो समय नेपाल प्रहरीले चलाएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम भित्र रहेर विविध कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरेका छन् ।