
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकामा बालबालिकाको पिडादायिक अवस्था अझै पनि बाँकी रहेको सरोकार वालाहरुले बताएका छन् । बालमैत्री नगरपालिका घोषणा भएको एक वर्ष पुरा गरेको अवशरमा आयोजना गरीएको समिक्षा गोष्ठीमा सरोकारवालाहरुले यस्तो बताएका हुन् । बालमैत्री नगरपालिका घोषणा पश्चात पनि बालश्रम तथा बालविवाह नरोकिनु दुर्भाग्य भएको बताएका छन् ।

शिक्षित ब्यक्तिहरु बाट नै बालश्रम तथा बालविवाह हुनु नगरपालिकाको लागी दुर्भाग्य रहेको बालपरामर्शदाताहरुको दाबि रहेको छ । उमेर नपुग्दै (२–३ वर्षको उमेरमा) पठनपाठनको लागी बालवालिकालाई विद्यालय पठाईनु सहि हो वा गलत भन्ने विषयमा पनि मनन् गर्नुपर्ने समय आएको बताईएको छ । अझै पनि विद्यालयमा विद्यार्थिलाई दण्ड दिएर पठनपाठन गराउने परिपाटीको अन्त्य नभएको सरोकारवालाहरुले दाबि गरेका छन् ।
तर पनि पहिलेको तुलनामा देवचुली नगरपालिकामा बालवालिकाको जनचेतना वृद्धि, शैक्षिक विकास, बाल संरक्षण, बाल सहभागिता लगाएतका विषयमा भएको प्रगतीलाई उपलब्धी मान्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
देवचुली नगरपालिका बालमैत्री नगरपालिकाको रुपमा घोषणा भएको आज (भाद्र २९ गते) १ वर्ष पुरा भएको छ । नेपालको दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिकाको रुपमा घोषणा भएको एक वर्ष पुरा भएको अवशरमा नगरपालिकाले समीक्षा गोष्ठी गरीए हो ।