
काठमाडौँ ।
यसपालिको दसैं अवधिभर सवारी दुर्घटनामा परी मुलुकमा १ सय ११ जनाले ज्यान गुमाएका छन् । यो असोज १२ घटस्थापनादेखि २६ गते पूर्णिमासम्मको तथ्यांक हो ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चालकको लापरबाही, क्षमताभन्दा बढी भार र सडक दुरवस्थालाई दुर्घटनाको मुख्य कारण औंल्याए । यात्रुको चाप धान्ने गरी सवारी नहुनुले पनि दुर्घटनालाई बढावा दिएको उनले बताए । घुम्ती सडक, सिकारु चालक, मादक पदार्थ सेवन, तीव्र गति, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण देखिएका छन् ।

गत शुक्रबार मात्रै क्षमताभन्दा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा सिन्धुपाल्चोकको, सुनकोसी गाउँपालिकामा ११ जनाको मृत्यु भयो । सय जना घाइते भए । त्यसको भोलिपल्ट शनिबार मुलुकभर ७ जनाले दुर्घटनामै ज्यान गुमाए । ६ वर्षयताको तथ्यांकअनुसार घटस्थापनादेखि पूर्णिमासम्म सवारी दुर्घटनामा ज्यान गुमाउनेको अनुपात १ सयभन्दा बढी देखिन्छ ।
गत वर्षको दसैं अवधिमा १ सय २९ जनाले ज्यान गुमाएका थिए । गत वर्षको तुलनामा ज्यान गुमाउनेको संख्या केही घटे पनि दुर्घटनाको कारण हरेक वर्ष एउटै किसिमको रहेको प्रहरी प्रवक्ता पोखरेलले बताए ।
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका अनुसार २०७४ को दसैंमा १ सय ४, २०७३ मा १ सय १, २०७२ मा ९२ र २०७१ को दसैंमा १ सय ४२ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकअनुसार पछिल्लो ६ वर्षको दसैंमा मात्रै २ हजार ७ सय ३६ सवारी दुर्घटना भएकोमा मृत्यु हुनेको संख्या ६ सय ६९ पुगेको छ । सबैभन्दा बढी दुर्घटना उपत्यकामा भए पनि घाइते र मृत्यु हुने यात्रु लामो दूरीका रहेको प्रहरीले जनाएको छ ।