
भिम भुसाल,
देवचुली ।

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता सदश्यहरुको दुर्घटना बिमा गरिने भएको छ । आज (बिहिवार) संस्थाको २२ औं बार्षिक साधारण सभामा भावी योजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष खिमानन्द भुसालले उपभोक्ताको दुर्घटना बिमा गरिने बताउनुभएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा रहेका सम्पूर्ण ४१ सय ६२ उपभोक्ता सदश्यको दुर्घटना बिमा गरीने योजना अध्यक्ष भुसालले प्रस्तुत गर्नुभएको छ । दुर्घटना बापत १ लाख रुपैया बरावरको बिमा गरिने बताईएको छ । जसको लागी उपभोक्ताले अतिरिक्त रकम खानेपानी संस्थामा तिर्नुपर्ने छैन ।
आफ्नो सेवा क्षेत्रलाई खुल्ला दिसा मुक्त घोषणा गर्न सफल नेपालको पहिलो खानेपानी उपभोक्ता समितिको सुचिमा समावेश भै सम्मानित भएको प्रगतिनगर खानेपानी संस्थाले शुद्ध बचतमा समेत बृद्धि गरेको छ । संस्थाका आन्तरीक लेखा समितिका संयोजक मथुरा प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदनमा संस्थाले गत बर्षभन्दा २ सय ७७ प्रतिसत शुद्ध बचतमा बृद्धि गरेको जनाउनुभयो । प्रतिबेदनमा गत आर्थिक बर्षमा १७ लाख ८६ हजार ३ सय ४९ रुपैया शुद्ध बचत रहेकोमा संस्थाको यस आर्थिक बर्षमा ६७ लाख ३४ हजार ५ सय ८० रुपैया शुद्ध बचत रहेको हिसाव सार्वजनिक गर्नुभएको हो ।
त्यस्तै, संस्थाले गत बर्षमा सञ्चालन गरेका ६६ वटा कार्य प्रगतिको प्रतिबेदन सार्वजनिक गर्दै भावी कार्ययोजनामा ७१ वटा सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । जसमा पानीको मूल मुहान स्रोत संरचनादेखि प्रशासनिक क्षेत्रसम्म तथा सरसफाईका क्षेत्रमा समेत योजना बनाईएको छ ।
अध्यक्ष भुसालको प्रतिवेदनमा संस्थाको अभिभाराको रुपमा सुरक्षित र पर्याप्त पानीको पहुँच, घरघरमा धारा, ब्यबस्थित र संमृद्ध आयोजना हाम्रो अभिभारा भन्ने मूल मन्त्रलाई कार्यान्वयन गरिने प्रतिवद्धता राख्नुभएको छ । संस्थाले बिश्व स्वास्थ्य संगठनले तय गरेका सुचक र मापदण्ड पुरा गरी सुरक्षित पानी र प्रभावकारी सेवा सहित नमूना खानेपानी योजना निर्माण गर्ने लक्ष्य रहेको समेत प्रतिबेदनमा उल्लेख छ ।
संस्थालाई नयाँ उचाईमा पुर्याउने दौरानमा चुनौतीहरु रहेको उल्लेख छ बिशेषत बाटो सुधार तथा पीचका क्रममा पाइपलाईन बाटोको बीचमा हुनु, बजार क्षेत्रमा पाईपलाईन निकै गहिरो ठाउँमा हुनु, बर्षातको बेला मुहान स्रोत धमिलो हुनु, मापदण्ड पुरा नगरी बनाईका घर तथा पुर्बाधार र पानीको चाँप तथा पुराना पाईप फुट्नु खानेपानीका प्रमुख समस्या चुनौतीका रुपमा रहेको औल्याईएको छ भने सरसफाईका क्षेत्रमा फोहोरमैलाको उचित र स्थायी ब्यवस्थापन नहुनु मुख्य चुनौतीको रुपमा दर्साइएको छ ।
प्रगतिनगर खानेपानीले यहीको साधन र स्रोतलाई संभावनाका रुपमा उपयोग गर्दै अवसर पक्रन सक्ने दावी गरेको छ । अध्ययनले यहाँ भूमीगत पानीको प्रसस्त संभावना रहेको, मुहान क्षेत्रको स्रोत बृद्धि गर्न सकिने अवस्था, तीनै तहका सरकार तथा दातृ निकायको सहयोग, गण्डकी सरकारको प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने प्रतिबद्धता, सबै पक्षवाट सकारात्मक सहयोग हुनु संस्थाले लिएका लक्ष्य र अभिभारा पूरा गर्ने अवसर भएको प्रतिवेदनमा उल्लेख छ ।
सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समिति कोषाध्यक्ष बिना बराल मगरले खानेपानी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ३९ लाख ४३ हजार ४ सय ४० रुपैया २४ पैसा आम्दानी गरेको बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा खर्च भने १ करोड ६४ लाख ४५ हजार १ सय रुपैया ५८ पैसा भएको उल्लेख गरीएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागी भने ६ करोड ३२ लाख रुपैया अनुमानित बजेट प्रस्तुत गरीएको छ ।
कार्यक्रममा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता खिमानन्द भुसालले गर्नुभएको थियो । दिप प्रज्ज्वलन गरी समुद्घाटन भएको साधारण सभामा संस्थाका उपाध्यक्ष रुक्मागत भुसालले स्वागत गर्नुभएको थियो ।
साधारण सभामा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, जनप्रतिनिधि, छिमेकी खानेपानी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव ईन्द्रमणी भुसालले गर्नुभएको हो ।