
कावासोती,
१ कात्तिक ।

नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा गत असोज २७ गते गैंडाको आक्रमणबाट एक जना उपभोक्ताको मृत्यु र एक जना गम्भीर घाईते भएको घटनामा उपभोक्ता समितिको बिरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै समितिले त्यसको खण्डन गरेको छ ।
गैंडाको आक्रमणबाट मृत्यु भएको उपभोक्ताको क्षतिपूर्ति र घाईते उपभोक्ताको उपचारमा समिति केन्द्रीत भएको बेला समितिको बिरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै समितिले त्यसको खण्डन गरेको हो । अध्यक्ष खिल बहादुर गुरुङ र सचिव द्रौपदी गुरौले संयुक्त रुपमा आज प्रेस बिज्ञप्ती जारी गर्दै समुहका पूर्व अध्यक्ष बलिराम महतोले पुर्वग्राही रुपमा गलत सुचना प्रवाह गर्दा आम उपभोक्ता तथा सरोकारवालामा गलत सन्देश प्रावह भएको प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
गत २०७५ मंसिरमा सुकेका दाउरा संकलन गर्न जादा वन क्षेत्र भित्रै बेहोश भई अस्पताल लादै गर्दा बाटोमा नै मृत्यु भएको उपभोक्तालाई समेत गैंडाको आक्रमणमा परि मृत्यु भएको तथा समितिको असाबधानीका कारण घटना घटेको भनी समितिका पूर्व अध्यक्ष बलिराम महतोले उपभोक्तालाई भ्रमिति बनाउदै सञ्चार माध्यममा समेत गलत सुचना प्रवाह गरेको भन्दै त्यसबाट समितिको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ ।
दउरा संकलनको क्रममा हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै समितिले निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गण र अन्य सरोकारवालाहरुसंग समन्वय गरि उपभोक्ताहरुलाई सुरक्षा दिने र सजग बनाउने काम समितिको तर्फबाट गर्दा गर्दै पनि सोही दिन दाउरा संकलन गर्ने क्रममा गैंडाको आक्रमणबाट एक जना घाईते र एक जनाको मृत्यु भएको समितिले जनाएको छ ।
गत असोज २७ गते सुकेका दाउरा संकलन गर्न जाने क्रममा गैंडाको आक्रमणबाट कावासोती १३ का ६५ वर्षीय गोरे तामाङ्गको मृत्यु भएको थियो भने सोही स्थान निवासी ३१ वर्षीय आशा गुरुङ्ग गम्भीर घाईते भएकी थिईन ।