खगेन्द्र पराजुली
१९ कार्तिक, नवलपुर ।
देबचुलीको दलदलेबाट कौडा खालबाट पक्राउ परेका २८ जना आज (मंगलवार) धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले ७ लाख रुपैंया धरौटीमा सबै २८ जनालाई छोडेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्रप्रसाद अधिकारीका अनुसार अनुसन्धान प्रक्रिया पुरा गरी जनही २५ हजार रुपैंयाका दरले धरौटी जम्मा गरी उनीहरुलाई छोडिएको हो ।
गत १० गते लक्ष्मीपुजाका रात दलदलेस्थित एक पार्टी प्यालेसबाट पक्राउ परेका उनीहरु १० दिनपछि छुटेका छन् ।
उनीहरु कौडा खालबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगद, १ थान कौडा–बोर्ड, १६ थान कौडाका गोटी सहित पक्राउ परेका थिए ।
पक्राउ परेका उपर अनुसन्धानका लागी भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत पहिलो चरणमा ७ दिनको म्याद थपेको थियो ।
सो म्याद हिजो सोमवार सकिएसँगै प्रहरीले हिजो अर्को चरणको ७ दिने म्याद माग गरेकोमा आजै अनुसन्धानका प्रक्रिया सकिएकोले उनीहरुलाई धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान प्रमुख अधिकारीले जुवातासजन्य गतिबिधिका बिरुद्धको प्रहरीको यो अभियान नियमित रहेकाले जुवाजन्य गतिबिधि नखेल्न नखेलाउन अनुरोध गर्नुभएको छ ।
प्रहरीले जुवातास गतिबिधिलाई समाजबाट दुरुत्साहन गर्न लागिपरेको दावी गर्दै अझ पनि ठूलो एकादशीका अवसरमा पनि जुवा चल्न सक्ने हुँदा प्रहरीले अझ ब्यापक निगरानी बढाउने बताउनुभयो ।