
भिम भुसाल, देवचुली ।
२४, कात्तिक
नवलपुरको देवचुली नगरपालिका अपाङ्गता मैत्री नभएको भन्दै अपाङ्गता समुह तथा संघसंस्थाले संयुक्त रुपमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । आज (आईतबार) देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठलाई नगर भित्रका विभिन्न ५ समुह र २ संस्थाले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् । नगरपालिका कार्यालयमा रहेको शौचालय, प्रमुख प्रशासकीय भवन, निमार्णाधिन वडा कार्यालय पूर्ण रुपमा अपाङ्गता मैत्री नरहेको ठहर गर्दै ति भवनहरुलाई पूर्ण रुपमा अपाङ्गता मैत्री बनाउन आग्रह गरेका हुन् । त्यस्तै सञ्चालनमा रहेका वडा कार्यालय र शौचालयहरुमा र्याम्प निमार्ण, नगर भित्रका विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक भवनहरु अपाङ्गता मैत्री बनाउन ध्यानकर्षण गरीएका छन् ।

अपाङ्गता भएका विद्यार्थिहरुलाई छात्रवृत्ति, स्टेशनरि तथा आवश्यक सहायक सामाग्रिहरुको ब्यवस्थापन गर्नुपर्ने, अपाङ्गता भएका ब्यत्तिहरुलाई नगरपालिका तथा नगरपालिका क्षेत्र भित्र संचालित उद्योग ब्यवसायमा रोजगारीको सुनिश्चतताका लागी कोटा निर्धारण गर्नुपर्ने तथा समुदायमा आधारित अपाङ्गता पुर्नस्थापना कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने भन्दै नगरपालिकाको ध्यानकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले देवचुली नगरपालिकालाई अपाङ्गता मैत्री बनाउने कार्य शुरु भएको भन्दै सम्पूर्ण वडा कार्यालय तथा नगरपालिका भवन अपाङ्गता मैत्री बन्ने आश्वासन दिनुभएको छ । शौचालयहरु अपाङ्गता मैत्री नभएको स्विकार गर्दै प्रमुख श्रेष्ठले त्यसको ब्यवस्थापनमा नगरपालिका अगाडी बढिसकेको बताउनुभयो । साथै ध्यानकर्षण पत्रलाई कार्यपालिका बैठकमा प्रस्तुत गर्ने र समग्र देवचुली नगरपालिका क्षेत्रलाई अपाङ्गता मैत्री बनाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
ध्यानकर्षण पत्र कोपिला नेपाल, धौलागिरी अपाङ्ग उत्थान संस्था, प्रगतिशिल अपाङ्गता स्वावलम्बन समुह वडा नम्बर ७, प्रतिभा अपाङ्गता स्वावलम्बन समुह वडा नम्बर ९, धौलागिरी अपाङ्गता स्वावलम्बन समुह वडा नम्बर १०, बहुमुखि अपाङ्गता स्वावलम्बन समुह वडा नम्बर ११, श्रीजना अपाङ्गता स्वावलम्बन समुह वडा नम्बर १२ ले संयुक्त रुपमा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठलाई बुझाएका हुन् ।