
काठमाडौं ।
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।

फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । पदक तालिकामा नवौं दिनसम्म भारतले १ सय ६६ स्वर्णसहित अग्रता बनाएको छ । ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ । पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ ।
बास्केटबलको फाइनल आजै हुने छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल र महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल हुने छ । बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुने छ । पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई आज भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने भएको छ ।
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् ९राखेप० तथा १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुनेछ । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ ।
खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उहाँले भन्नुभयो । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ । उहाँले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताउनुभयो ।
सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गर्नुभयो । मङ्सिर १५ गतेदेखि शुरु भएको १३ औँ सागको मङ्गलबार समापन हुँदैछ ।
उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये आठ हजार टिकट बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । दक्षिणतर्र्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको सिलवालको भनाइ थियो ।
समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ । उक्त खेलमा भूटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ ।
समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था गरिएको सदस्य सचिव सिलवालले उल्लेख गर्नुभएको छ ।