२७- मंसिर,काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने भन्सार अधिकृत र भ्रष्टाचारको पैसा लगानी गर्ने जेठान दुवै विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । विदेशबाट आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा घुस लिएको तथ्य प्रमाणित भएको अख्तियारले जनाएको छ ।
बस्नेतले घुस लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको पाइएको छ । गौलीले ज्वाइँ कृष्णबहादुरले प्राप्त गर्ने कमिशन रकम आफूले लिने र व्यवसायहरुमा लगानी गर्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।