काठमाडौं।
सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा प्रदेश सरकारको समग्र खर्च स्थिति ७.५३ प्रतिशत मात्रै रहेको छ। केन्द्र सरकारले यो अवधिमा १९ प्रतिशतको कमजोर खर्च स्थिति देखिएको अवस्थामा प्रदेश सरकारको खर्च स्थिति थप कमजोर देखिएको हो। चालु आर्थिक वर्षको लागि सातवटा प्रदेश सरकारले दुई खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ बजेट ल्याएकोमा पाँच महिनाको अवधिमा १९ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेका छन्। मानव-विकास सूचांक र विकासको दृष्टिकोणले सबैभन्दा पछि देखिएको कर्णाली र प्रदेश २ मा पाँच महिनासम्म सबैभन्दा कमजोर खर्च स्थिति देखिएको छ। यो अवधिमा प्रदेश २ ले ३.८९ र कर्णाली प्रदेशले १.८७ प्रतिशतमा खर्च गरेका छन्। सबैभन्दा बढी प्रदेश ५ ले १०.८१ प्रतिशत खर्च गरेको छ।