
१०- पुष ,धनगढी ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको चोरी सिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए ।

उनीहरूबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ । पक्राउ परेकाहरूबाट ५ थान वन्यजन्तुको छाला समेत प्रहरीले बरामद गरेको छ । उनीहरूबाट थारको छाला,रतुवाको र घोरलको छाला समेत प्रहरीले बरामद गरेको हो ।
“मुलुकी अपराध संहिता ऐन २०७४” को दफा १३२ बमोजिम “हातहतियार खरखजना सम्बन्धी कसुर”मा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।