
भिम भुसाल, नवलपुर।
गण्डकी प्रदेशको नवलपुर बाल विवाहहुने जिल्लाको प्रथम सुचिमा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गैडाकोट नगरपालिका वडा नम्बर ११ लाई बालमैत्रि वडा घोषणा कार्यक्रमा बोल्दै मन्त्रि पुनले नवलपुरमा १४ प्रतिशत बालविवाह हुने गरेको भन्दै बालविवाहको प्रथम सुचिमा रहेको बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएकि पुनले गण्डकी प्रदेशको ११ जिल्ला मध्ये सबै भन्दा धेरै बालिकाहरुको उमेर नपुग्दै विवाह हुने जिल्लामा नवलपुर प्रथम नम्बरमा रहेकोले यसको न्युनिकरणका लागी नवलपुर जिल्लामा धेरै बजेट छुट्याइएको दाबि गर्नुभयो ।
गण्डकी प्रदेशमा पोषणयुक्त खानेकुरा खाने महिला तथा बालबालिका ५० प्रतिशत मात्रै रहेको तथ्याङ्क समेत मन्त्री पुनले सार्वजनिक गर्नुभएको थियोे । साथै गण्डकी प्रदेशमा ३० विद्यालयका छात्राहरुले विद्यालयमा सेनेटरी प्याडको ब्यवस्थापन गर्न नसक्दा विद्यालय नै छाड्ने गरेको उहाँले बताउनुभयो । प्रदेशमा देखिएको विभिन्न समस्याहरुलाई न्युनिकरण गर्न सडक बालवालिकाको ब्यवस्थापन, बालविवाह रोकथाम, बौद्धिक अपाङ्गता भएका बालवालिकालाई आवाशिय विद्यालय सञ्चालन, खोपकोष, सामुदायिक विद्यालयको ब्यवस्थापन लगाएतको विकासमा प्रदेश सरकारले खर्च गर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बालविवाह रोकथामका साथै स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुमा सकृयताका साथ कार्य गरीरहेको दाबी गर्नुभयो ।
कार्यक्रम गैडाकोट नगरपालिका वडा नम्बर ११ वडाध्यक्ष गोविन्दप्रसाद सुवेदिको अध्यक्षतामा भएको थियो ।