
काठमाडौँ, १३ पुस ।
नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ सातै प्रदेशमा गरिने भएको छ । यही फागुनदेखि सर्वेक्षण थालिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ। तथ्यांक विभागका निर्देशक रामहरि गैरेका अनुसार प्रश्नावलीको पहिलो खेस्रा बनिसकेको छ।

विज्ञहरुसित छलफलपछि सर्वेक्षण गरिनेछ। साथै यसलाई मूर्त रूप दिनको लागि अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन र विभागबाहिरका विज्ञ र जानकारहरूसँग पनि थप छलफल तथा परामर्श गरिनेछ।
यसको ‘स्याम्पल’ डिजाइनका विषयमा विज्ञ र विभाग स्तरभित्र अन्तरक्रिया तथा छलफल चलिरहेको उनले जानकारी दिए। उनले यसका लागि भुटानको खुसी सर्वेक्षण प्रश्नावाली, अन्तर्राष्ट्रियखुसीका सूचक तथा देशको परिवेश हेरेर आइडिया लिइएको बताए।
यसका लागि राष्ट्रिय योजना आयोगसँग करिब डेढ करोड बजेट माग गरिएको छ।
निर्देशक रामहरि भन्छन्, ‘बजेट आएपछि काम सुरु हुन्छ’। १८ वर्ष वा सोभन्दा माथि उमेरका व्यक्तिमा यो सर्वेक्षण गरिनेछ। सर्वेक्षण ५–५ वर्षको अन्तरालमा गरिनेछ। नेपालकै परिवेश सुहाउँदो प्रश्नहरु राखेर सर्वेक्षण गरिनेछ। यो आर्थिक वर्षदेखि सुरु गरिने सर्वेक्षण नेपालभरीको क्षेत्र तथा सबै वर्गको प्रतिनिधित्व हुने गरेर स्याम्पल डिजाइन गरिदैँछ। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।