
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संस्थाको २०७५\७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् । घिमिरेले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले अख्तियारको काम प्रशंसनीय रहेको बताउँदै सुशासन स्थापनाका लागि भ्रष्टाचार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

पछिल्लो आर्थिक वर्ष २०७५\०७६ मा भ्रष्टाचार तथा अनुचित कामका सम्बन्धमा आयोगमा परेका उजुरी र त्यसउपर आयोगले गरेको छानबिन तथा कारबाही विवरण तथा सुझावसहित प्रतिवेदन पेस भएको छ। स्थानीय तहमा भ्रष्टाचार र अनियमिता बढेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५\०७६को वार्षिक प्रतिवेदन पेस गरेको जानकारी राष्ट्रपति कार्यलयमा प्रवक्ता हरि प्रसाद दाहालले दिएका छन्।
प्रतिवेदन पेस गरेपछि अख्तियारले पत्रकार सम्मेलन गरेर पछिल्लो आर्थिक वर्षामा सम्पादन गरेका कामबारेमा जानकारी दिएको थियो। २०७५\७६ भ्रष्टाचार तथा अनुचित कामसम्बन्धी २४ हजार उजुरी परेका छन्। स्थानीय तहमा भएका आर्थिक अनियमिता र भ्रष्टाचारसम्बन्धमा बढी उजुरी परेका छन्।