
पोखरा।
अन्नपूर्ण बेस क्याम्पस (एबीसी) र माछापुच्छ्रे आधार शिविर (एमबीसी) पदमार्गमा बाक्लो हिमपातका कारण फसेका १४१ जना पर्यटक तथा गाइडको शनिबार उद्धार गरिएको छ । दुई दिनदेखि हिमपातका कारण पदमार्गमा पर्यटक फसेको तथा केही हराइरहेको खबरपछि शनिबार ३७ उडानमा सिम्रिक एयर र प्रभुले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ४० जना नेपाली रहेको सिम्रिक एयरका पोखरा प्रमुख कमल गौतमले जानकारी दिए । उद्धार गरी प्रभु र सिम्रिक एयरका चारवटा हेलिकोप्टरबाट उनीहरूलाई पोखरा ल्याइएको थियो । यसैबीच, एबीसीनजिक हिम्कुमा शुक्रबारदेखि हराएका सात जना पर्यटकको अवस्था अझै अज्ञात छ । शुक्रबार दिउँसो सम्पर्कविहीन तीन नेपाली र चार कोरियनसहित सात पर्यटक शनिबार साँझसम्म सम्पर्कमा छैनन् । बेपत्ता हुनेमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन् । नेपालीतर्फ गाइड सरोज परियार बेपत्ता छन् । अन्य दुई नेपालीको पहिचान खुलेको छैन । ११ सदस्यीय सो टोली तीन दिनअघि ट्रेकिङका लागि एबीसीतर्फ गएको थियो ।
यसैबीच, अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बिहानैदेखि उद्धार टोली घटनास्थल पुगे पनि बाक्लो हिउँ जमेका कारण खोजी गर्न समस्या परेको जानकारी दिए । उनका अनुसार सो स्थानमा सात फिटसम्म हिउँ जमेको छ । शनिबार हेलिकोप्टरबाट भएको उद्धारमा हिँड्न सक्नेलाई अन्नपूर्ण–११, छोम्रोङमा अवतरण गराइएको थियो । उद्धार गरिएकामा पर्यटक, गाइड, पोर्टर र होटल व्यवसायी छन् ।
उद्धार कार्यमा स्थानीयसहित प्रहरी र ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल (टान) पोखराको टोली पनि संलग्न छ । निरन्तर हिमपात भएकाले आइतबारबाट मात्र बेपत्ता भएकाको खोजी हुने टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।