
स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार योजनामा हुने गरेको तथ्य सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सर्बेक्षणको क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो । अख्तियारका अनुसार योजनामा कूल भ्रष्टाचारको ४६ दशमलव ७ प्रतिशत भ्रष्टाचार हुने गरेको छ ।

अख्तियारले देशभरीका १५ जिल्लामा गरेको सर्वेक्षणको क्रममा यस्तो तथ्यांक फेला परेको जनाएको छ । ती जिल्लाका सेवाग्राहीबिच गरिएको सर्वेक्षण अनुसन्धानमा घुस मागेको आधारमा उक्त तथ्य फेला परेको अख्तियारको भनाई छ । भ्रष्टाचार धेरै हुने स्थानीय तहको अर्को शाखा लेखा प्रशासन रहेको छ । जहाँ ३२ दशमलव १ प्रतिशत भ्रष्टाचार हुने गरेको अख्तियारको तथ्यांक छ ।
त्यस्तै भ्रष्टाचार धेरै हुने तेश्रो शाखा कर÷राजस्व मा २६ दशमलव ७ प्रतिशत भ्रष्टाचार हुन्छ। अख्तियारका अनुसार स्थानीय तहका कर्मचारीले पंजीकरण दर्तामा समेत घुस माग्न बाँकी राख्दैनन् ।
जन्म, मृत्यु, बसाईंसाराई लगायतका विवरण दर्ता गराउन जाँदा २३ दशमलव ७ प्रतिशत घुसमा मात्र काम हुन्छ । अन्य विभिन्न क्षेत्रमा १७ दशमलव ३, शिक्षामा १४ दशमलव २, स्वास्थ्य अनुमोदन निर्माणमा ११।९, स्वास्थ्यमा ११, प्रवन्ध व्यवस्थापनमा ५।८ र महिला बालबालिकामा ३।६ प्रतिशत भ्रष्टाचार हुने गरेको अख्तियारले जनाएको छ ।