
काठमाडौं ।
सन् २००९ को डरलाग्दो स्वाइन फ्लू होस् या पश्चिम अफ्रिकामा देखिएको इबोला, कुनैपनि नयाँ रोग देखा परे त्यो रोगको किटाणुसँग लड्न जहिल्यै विश्व नै एक भएको पाइन्छ। तर चीनले हाल व्यहोरिरहेको चुनौती संसारका कुनै स्वास्थ्य अधिकारीले सामना गरेको छैन। चीनमा पछिल्लोपटक रहस्यमयी कोरोना भाइरस देखापरेको छ।

चीनमा हालसम्म यस भाइरसका कारण चार जनाको मृत्यु भइसकेको छ। चौथो व्यक्तिको मृत्यु भएपछि भने यस भाइरस मानिसबाट पनि सर्ने पुष्टि भएको छ। लुनार नयाँ वर्षको समयमा यस भाइरस देखा परेपछि यतिबेला विश्व हैरान छ। किनभने लुनार नयाँ वर्ष मनाउन चीनबाट हरेक वर्ष ७० लाख मानिसहरु विदेश जान्छन्।
चिनियाँहरुले यात्राका क्रममा विमान, रेल, बसलगायत यातायातका सबै माध्यम प्रयोग गर्छन्। यसकारण कोरोना भाइरस विश्वभर फैलन सक्ने र यसलाई रोकथाम गर्न साह्रै जटिल हुनेभन्दै विश्वका चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्। यस भाइरस चीनको वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक पहिचान भएको थियो। चीनले यतिबेला २ सयभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित बनेको पुष्टि गरेको छ।
सोमबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले वुहानको कोरोना भाइरस मानिसबाट पनि सर्ने पुष्टि गरेपछि झनै त्रास बढेको हो। यस भाइरस दक्षिण कोरिया, थाइल्यान्ड र जापानमा पनि देखिएको छ। वुहान शहरबाट घुम्न गएका पर्यटकबाट सो भाइरस फैलिएको बताइएको छ।
वेलायतको विश्वव्यापी स्वास्थ्य संस्था वेलकम ट्रस्टका निर्देशक माइक टर्नर भन्छन्, ‘चीन धेरै देशसँग जोडिएको छ र यो भाइरस विश्वभर फैलने सम्भावना उच्च छ।’
चिनियाँ अधिकारीहरुले यस भाइरस रोकथाम गर्न सकिने बताइरहँदा संक्रमितको संख्या बढ्दै गएको छ। वुहान शहरभन्दा सयौं माइल टाढा बेइजिङमा मंगलबार ५, सांघाईमा २, ग्वाङदोङ प्रान्तमा १४ संक्रमित भएको खबर छ। चिनियाँ वैज्ञानिकले जनवरीमा एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको पत्ता लगाएको थियो। यस भाइरसको संक्रमणपछि निमोनिया हुने, स्वास प्रस्वासमा समस्या हुन्छ।
सन् २००२ र २००३ मा गम्भीर किसिमको स्वास प्रस्वासको समस्या चीनमा देखिएको थियो। त्यसबेला ८ हजार व्यक्तिमा त्यो रोग सर्दा ७७४ जनाको मृत्यु भएको थियो। एसिया हुँदै उक्त रोग क्यानडासम्म पुगेको थियो। हालको कोरोना भाइरसले पनि स्वास प्रस्वासमा समस्या उत्पन्न गरेको हुँदा यतिप्रतिको भय संसारभर फैलिएको हो।
वेलकम ट्रस्टका संक्रामक रोग विशेषज्ञ जेरेमी फरारले चीनको यो भाइरस ‘अत्यन्त संवेदनशिल’ भएको बताउँछन्। वुहानमा देखिएको यस भाइरसले सुरुमा ज्वरो आउँछ र खोकी पनि लाग्छ। यो जाडो याममा सामान्य मानिन्छ। सामान्य मानेर मानिसले वेवास्ता गरेकै कारण विस्तारै सो रोगले गम्भीर रुप लिने चेतावनी दिइएको छ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोरोना भाइरसका कारण सास फेर्न निकै गाह्रो हुने बताएको छ। त्यस्तो लक्षण देखियो भने अस्पताल जान आग्रह गरिएको छ।बुधबार डब्लूएचओले चीनको कोरोना भाइरसबारे छलफल गर्न आकस्मिक वैठक बोलाएको छ। चीनको विदेशमन्त्रालयका प्रवक्ता गेङ सुआङले चीनले भाइरसलाई रोकथाम गर्न सक्रिय प्रयास गरेको बताएका छन्। आइतबार मात्र चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भाइरस अझै पनि रोकथाम गर्ने स्थितिमा भएको बताएको थियो।
चीनले २ सयभन्दा बढी संक्रमित भएको बताइरहँदा वेलायती अनुसन्धानकर्ताले १७ सयभन्दा बढी संक्रमित भइसकेको अनुमान गरेको छ। कोरोना भाइरस देखा परेको वुहान शहरसँग विश्वका ६० क्षेत्र जोडिएका छन्। अमेरिकाको न्यु योर्क, सान फ्रान्सिस्को, सिड्नी, पेरिस, लन्डन लगायत अन्तर्राष्ट्रिय शहरहरु र चीनकै अन्य महत्वपूर्ण स्थानमा यहाँको हवाइ सन्जाल जोडिएको छ। १ करोड दश लाख मानिसको शहर वुहानको तिव्र गतिको रेल सन्जाल विभिन्न शहरसँग जोडिएको छ। जनवरी २५ ९शनिबार० का दिन चीनले लुनार नयाँ वर्ष मनाउँदैछ।
त्यो अवसरमा यहाँका लाखौं मानिस विभिन्न देश र चीनका विभिन्न क्षेत्रमा भ्रमण गर्न जाने हुनाले अब यो भाइरस विश्वव्यापीरुपमा फैलिनसक्ने अनुमानले सबैलाई तर्साएको छ। वैज्ञानिकहरुले विश्वभरका सरकारले अब कोरोना भाइरसको खतरासँग जुध्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। अस्ट्रेलिया, अमेरिका लगायतका देशले वुहान शहरबाट भ्रमण गर्न आउने पर्यटकको लागि विशेष स्वास्थ्य अभियान संचालन गर्ने घोषणा गरिसकेका छन्।
९सीएनएन०