
भिम भुसाल, नवलपुर ।
देश विकासको प्रमुख आधार नै प्रजातान्त्रिक राजनिति भएकाले नेपाल विधिको शासनको अभावमा विकास हुन नसकेको पूर्व स्वास्थ्य मन्त्रि एंव नेपाली काँग्रेस केन्द्रिय सदस्य सांसद गगन कुमार थापाले दाबि गर्नुभएको छ । नवलपुरको दलदलेमा आयोजित देवचुली जेसिसको पद हस्तान्त्रण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद थापाले प्रजातान्त्रिक संस्थाहरुको अभावमा देश विकास हुन नसक्ने दाबी गर्नुभएको हो ।

नेपालमा राजा देखि पञ्चायत हुदै विभिन्न राजनैतिक नेताले पालैपालो शासन गर्दै आएता पनि मुलुक विकास हुन नसक्नुको कारण नै लोकतान्त्रिक शासन ब्यवस्था कमजोर रहेको किटान गर्नुभएको छ ।
बर्तमान समयमा सरकार जवाफदेहि बन्न नसकेको भन्दै केन्द्रिय सदश्य एंव सांसद थापाले प्रतिपक्ष समेत जिम्मेवार हुन नसकेको औल्याउनुभएको छ । जुन पार्टीमा लागेर जुनसुकै पार्टीको झण्डा बोके पनि विधिको शासनको पक्षमा उभिनु नै असल नागरीकको पहिचान भएको सांसाद थापाको भनाई छ ।
देवचुली जेसिज वर्ष २०१९ का अध्यक्ष बसन्त पोखरेलको अध्यक्षतामा भएको पद हस्तान्त्रण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्रि एंव नेपाली काँग्रेस केन्द्रिय सदस्य सांसद गगन कुमार थापा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।