भिम भुसाल, देवचुली ।
नेपालकै दोस्रो बालमैत्री नगरपालिका देवचुलीमा ४६ जना बालवालिकामा कुपोषण भेटिएको छ । नगरभित्रका ४ सय ८७ बालवालिकामा गरीएको कुपोषण परिक्षणमा ६ बालवालिकामा शिघ्र र ४० बालवालिकामा मध्यम कुषोषण भेटिएको सुआहारा नवलपरासी जिल्ला संयोजक कृष्ण गुरुङ्ले बताउनुभयो ।
बालवालिकाहरुमा जङ्गफूड खाने, आमाहरुले बालवालिकाको उचित स्याहार नगर्ने परिपाटिले गाऊका बालवालिका भन्दा पनि शहर केन्द्रित बालवालिकामा कुपोषणको संक्रमण भेटिएको संयोजक गुरुङ्ले बताउनुभयो ।
देवचुली नगरपालिका र सुआहाराले सोमवार नगरभित्रका बालवालिकामा संयुक्त परिक्षण गर्दा कुपोषित बालवालिका भेटिएको हो । देवचुली नगरपालिकाले आयोजना गरेको २ दिने एकिकृत तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चितता गोष्ठीमा प्रशिक्षकको रुपमा रहनुभएका सुआहारा नवलपरासी जिल्ला संयोजक कृष्ण गुरुङ्ले बालवालिकाको स्वास्थ्यमा ध्यान केन्द्रित गरिदिन स्थानिय सरकारलाई आग्रह गर्नुभएको छ । स्थानिय सरकारलाई पोषण उन्मुख बजेट बनाउन गोष्ठिले प्रभावकारी भुमिका खेल्ने समेत गुरुङको दाबी छ ।
मंगलवार गोष्ठी समापन गर्दै देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले नगरलाई कुपोषणमुक्त बनाउन विभिन्न कार्यक्रमहरुको थालनि गरीने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । जसमा देवचुली नगरपालिका भित्रका सम्पूर्ण ब्यक्तिहरुमा स्वस्थ जिवनशैली निमार्ण गर्न नगरपालिकाले यथासक्य कार्यक्रमहरुको आयोजना गर्ने विषयमा सहमत हुदै प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सामान्य लापरवाहीले गर्दा ब्यक्तिको जिवन मृत्युको अवस्थासम्म पुग्न सक्ने भन्दै खानपान तथा शारिरिक ब्यायममा ध्यान दिन सम्पूर्णमा आग्रह गर्नुभएको छ । दैनिकी शारिरिक ब्यायमका साथै सामान्य योगा गर्दा समेत ब्यक्ति स्वस्थ रहन सक्ने भन्दै प्रमुख श्रेष्ठले स्वास्थ्य नै जिवन भन्ने विषयलाई बुझिदिन सम्पूर्ण नागरीक समक्ष अपिल गर्नुभएको छ ।
ब्यवसायिक कृषि, पर्यटन र पूर्वाधार, बालमैत्री देवचुली बस्न योग्य शहर नाराका साथ २ दिन सम्म चलेको गोष्ठिमा देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने कार्यक्रममा देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, देवचुली नगरपालिका प्रवक्ता एंव देवचुली १३ वडा अध्यक्ष क्यापटेन डिलबहादुर खत्री, देवचुली नगरकार्यपालिका सदश्य, सम्पूर्ण वडाका वडा अध्यक्ष, देवचुली नगरपालिका विभिन्न विषयगत शाखाका शाखा प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।