काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । विहान ११ बजे राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश हुने छ ।
त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको नेकपाले जनाएको छ । नेकपा सचिवालयको हिजो बेलुका बसेको बैठकले बिहान ११ बजे बैठक सुरु गर्ने निर्णय गरेको हो ।
बैठकको सुरुमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । आज नै सातवटै प्रदेशका अध्यक्षले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गर्नेछन् । भोलिबाट समूहगत छलफल हुने नेकपा सचिवालयको निर्णय छ । ४ सय ३९ केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
४ सय ४५ सदस्य रहेको केन्द्रीय कमिटीमा केहीको मृत्यु र केही उच्च ओहदामा रहेका कारण सदस्यता निष्क्रिय हुँदा ४ सय ३९ सदस्यले मात्र भाग लिनेछन् । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको केन्द्रीय कमिटी बैठक त्यसैताका एक पटक बसेको थियो ।