धनगढी।
मापदण्डविपरीत सूर्तीजन्य पदार्थ (गुट्खा) बिक्रीवितरण गर्ने तीन जना व्यापारीमाथि जिल्ला प्रशासन कार्यालय कैलालीले अनुसन्धान थालेको छ । मापदण्डविपरीत बजारमा गुट्खा बिक्री वितरण भइरहेको पाइएकाले विभिन्न पसलबाट बरामद गरिएका सूर्तीजन्य पदार्थका आधारमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान अघि बढाएको हो ।
बजार अनुगमनका क्रममा प्रशासन कार्यालयले २ देखि १२ माघसम्म सूर्तीजन्य पदार्थ बिक्री गर्ने धनगढीका विभिन्न सप्लायर्स तथा किराना पसलबाट मापदण्डविपरीतका गुट्खा बरामद गरेको थियो । धनगढीस्थित भण्डारी ब्रदर्स एन्ड सप्लायर्स, बालाजी सप्लायर्स र रिचा किराना पसलबाट गरी ६ सय ८९ बोरा गुट्खा बरामद गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भण्डारी ब्रदर्स एन्ड सप्लायर्सबाट ६ सय ५२ बोरा, बालाजी सप्लायर्सबाट ३६ बोरा र रिचा किराना पसलबाट एक बोरा मेघाश्री नामक गुट्खा बरामद गरिएको थियो । बजार अनुगमन टोलीले भण्डारी ब्रदर्स तथा बालाजी सप्लायर्समा सिल गरेको थियो ।
कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको देउती गुट्खा इन्डस्ट्रिजले मेघाश्री नामक गुट्खा उत्पादन गर्दै आएको छ । बजार अनुगमन टोलीले मेघाश्री, शुद्ध प्लस, पुकार र भोला नामको गुट्खा बिक्रीवितरण गर्दै आएका सप्लायर्स तथा पसलमा अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा मापदण्डविपरीत उत्पादन गरिएका मेघाश्री नामक गुट्खा बरामद भए पनि अन्य ब्रान्डका गुट्खा भने बरामद भएको थिएन ।
कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिले हामीले गुट्खा बरामद गरेका व्यापारीलाई प्रशासनमा उपस्थित हुन पत्र पठाएका छौं । जिल्ला प्रशासनमा शुक्रबार भण्डारी ब्रर्दस एन्ड सप्लायर्सका सञ्चालक उपस्थित भए पनि बयान भने नभएको जनाइएको छ ।
सूचना अधिकारी जोशीले भने, ‘बयानपछि मात्र कसका विरुद्ध मुद्दा अघि बढाइने भन्ने टुङ्गो लगाइनेछ ।’ उनका अनुसार मापदण्डविपरीत गुट्खा उत्पादन तथा बिक्रीवितरण गर्नेलाई ५० हजार रुपैया“ जरिमाना तथा एक वर्ष कैद र दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म गुट्का उत्पादक÷उद्योगलाई भने कुनै पत्र नपठाएको जनाइएको छ ।
मापदण्डविपरीत उत्पादन
कैलालीमा बिक्रीवितरण भइरहेका चारवटा ब्रान्डका गुट्खाविरुद्ध उजुरी परेपछि प्रशासन कार्यालयले २ माघदेखि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीनवटा सप्लायर्स÷पसलबाट मापदण्डविपरीतका मेघाश्री गुट्का बरामद भएको थियो । तर, पुकार, शुद्ध प्लस र भोला ब्रान्डका गुट्का बिक्री गर्ने सप्लायर्सकहा“ भने कुनै पनि गुट्खा फेला परेन ।
मेघाश्री गुट्खाको खोलमा मापदण्ड पूरा नागरिकन जनचेतनामूलक सन्देश तथा चित्र छापिएको पाइएको थियो । मेघाश्रीजस्तै शुद्ध प्लसको खोलमा पनि मापदण्ड पूरा गरिएको नभए पनि बरामद भएको थिएन ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार शुद्ध प्लस गुट्का बिक्रीवितरण गर्ने सप्लायर्सकहा“ पुग्दा गोदाम रित्तै थियो । कसैले अनुगमन टोली आउ“दै छ भनेर पहिले नै सूचना दिएको कारण गोदाम खाली भएको आशंका गरिएको छ ।