भिम भुसाल, दलदले ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको अस्थाई प्रहरी पोष्ट धरापमा परेको छ । १० धुर जग्गामा स्थानियको सहयोगमा निमार्ण भएको प्रहरी पोष्ट नारायणगढ बुटवल सडक निमार्णको क्रममा उठिबासको अवस्थामा पुगेको छ ।
भौतिक रुपमा जिर्ण प्रहरी पोष्टलाई समयमै स्थानान्तरण नगर्दा प्रहरी बिचल्लिको अवस्थामा पुग्ने संकेत देखिएको छ । अस्थाई रुपमा देवचुली १४ छत्तिसघरमा रहेको प्रहरी पोष्टमा हिरासत कक्ष समेत जोखिमको अवस्थामा रहेको छ । धेरै गहिराईको ईनारको माथि थुनुवा बस्ने हिरासत कक्ष रहेको छ । जोखिम मोलेरै प्रहरीले थुनुवालाई उक्त हिरासत कक्षमा राख्दै आएको छ ।
सम्बन्धित निकायले समयमा नै प्रहरी पोष्टको ब्यवस्थापन गरिदिन अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले आग्रह गरेका छन् । नारायणगढ बुटवल सडक खण्ड अन्र्तगत राजमार्ग छेउमा रहेको उक्त प्रहरी पोष्टको स्थानान्तरणमा देवचुली नगरपालिका र जिल्ला प्रहरी कार्यालयले समयमा नै ध्यान दिन आवश्वक छ ।