दयाराम आचार्य,कावासोती ।
दुम्किबास त्रिवेणी सडक निर्माणकालागि वातावरणिय प्रभाव मूल्याङ्कनको कार्य अगाडी बढेकाले अब सडक निर्माण हुने सांसद तिलक महतले बताउनु भएको छ । दुम्किबासमा गजेन्द्रमोक्ष –दुम्किबास –पाल्पा सडक खण्डको वातावरणिय प्रभाव मूल्याङ्क को सम्बन्धमा भएको सार्वजनीक सुनुवाई कार्यक्रममा बोल्दै सांसद महतले वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य पहिलो पटक अगाडी बढेको बताउदै अब सडक निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहा“ले कानूनी प्रक्रियाबाटै निर्माणको कार्य अगाडी बढेको भन्दै अब पनि निर्माणको कार्य हुन नसके आफु संघर्षको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।
गण्डकी प्रदेशकै भविश्य संग जोडिएको भएकाले दुम्किबास त्रिवेणी सडक खण्ड निर्माणको काम सरकारले गर्ने बताउदै निर्माण हुन नसके सबै संग हातेमालो गरि संघर्षको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । उहा“ले दुम्किबास त्रिवेणी सडक निर्माण संगै नवलपुरको औधोगिक विकास हुने साथै प्रदेशकै नाका समेत भएकाले यसको निर्माण गर्ने कुरामा आफुहरु लागि परिरहेको बताउनुभयो । उहा“ले दुम्किबास त्रिवेणी सडक सबैको साझा मुद्धा भएको बताउदै सबै मिलेर लाग्नुपर्नेमा जोडदिनुभयो । लामो समय सम्म त्रिवेणीमा निर्माणकार्य रोकिएको झुलुङ्गे पुल समेत निर्माणको प्रक्रियामा गएको बताउदै यो सडक खण्डपनि कुनै पनि हालतमा निर्माण हुने उहा“ले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपालीले यो सडक निर्माण हुन नसके प्रदेशनै अपाङ्ग हुने बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले जनताको सुविधाकालागि कानूनको संसोधन गर्नुपरे पनि त्यसलार्य संशोधन गरि सडक निर्माण गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले आफुले यो सडक निर्माणकालागि आवाज उठाउदै आएको भन्दै परिआए सबै जनप्रतिनिधि सडक निर्माणको लागि संघर्षमा उभिन तयार रहेको बताउनुभयो ।
अर्का प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले त्रिवेणी नाका त्रिवेणीका दुई वटा वडाका बासिन्दाको मात्र सवाल नभएर प्रदेशकै विषय भएको बताउनुभयो । यि दुई वडालाई भन्दा प्रदेशलाई यो सडकको आवश्यकता हुने उहा“ले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानियहरुले दुम्किबास त्रिवेणी सडक जतिसक्दो चाडो निर्माण गर्नुपर्ने आवाज उठाएका थिए । वातावरणिय प्रभाव मूल्याङ्कनमा भएका केही कमि कमजोरीहरुलाई न्यूनिकरण गर्दे छिटो भन्दा छिटो सडक निर्माण गर्नुपर्ने वडा नम्बर ७ का स्थानिय प्रकाश कुवरले बताउनुभयो ।
वडा नम्बर ६ का स्थानिय भैरव प्रसाद शर्माले त्रिवेणी बजारमा हुने क्षतिलाई जोगाउने गरि बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । ६ कै स्थानिय विरेन्द्र महतले यो सडक निर्माण नहुदा धेरै समस्या झेल्दै प्रदेश ५ को बाटो हुदै गाउ“पालिका आउनुपर्ने बाध्यता भएकाले चाडो यो समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । नभए आफुहरु संघर्षमा उत्रिने समेत उहा“ले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा परामर्शदता संस्था दिपक चौलागाईले वातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएका विषयहरुको जानकारी दिनुभएको थियो । उहा“ले त्रिवेणी देखि पाल्पाको पकलुवा सम्म ६८ किलोमिटर सडक निर्माण हुने बताउनुभयो । यस सडक निर्माणले नवलपुर र पूवी पाल्पाका बासिन्दालाई सहजता हुने छ ।