भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको शास्वत धाम अगाडिको ठेलाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेको छ । धाम अगाडिको ठेलाहरुले सडक अव्यवस्थित बनाएको र सवारी दुर्घटना बढ्न सक्ने भन्दै नगरपालिकाले हटाउन शुरु गरेको हो ।
आज (मंगलवार) देवचुली नगरपालिकाको नगरप्रहरी र ईलाका प्रहरी कार्यालय रजहरका प्रहरीहरुको सहयोगमा ठेला हटाएको छ । पटक–पटक ठेला हटाउन अनुरोध गर्दा समेत अटेर गरि सडक छेउमा ठेलाहरु राखेर अब्यवस्थित रुपमा ब्यवसाय सञ्चालन गरेको भन्दै नगरपालिकाले ठेला हटाएको जनाएको छ ।
ठेलामा राखेका फलफूल, चटपट, पूजाका सामाग्रीहरुलाई नगरपालिकाको गाडिमा उठाईएको थियो । ठेला सञ्चालन गर्दै आएका स्थानियले भने ब्यवसाय सञ्चालन गर्नदिनुपर्ने भन्दै प्रहरीसँग सामान फिर्ता गर्न जबरजस्ति गरेका थिए । ठेला हटाएको केहि समय पछि भने पुन सडक छेउमा ठेला नराख्ने शर्तमा नगरपालिकाले सामान फिर्ता गरिदिएको छ ।