भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकामा पहिलो पटक अन्तरपुस्ता सिप हस्तान्त्रण कार्यक्रम भएको छ । देवचुली नगरपालिकाको आयोजनामा पहिलो पटक ४ पुस्ता समुह विभाजन गरि एक दिने सम्बाद कार्यक्रम भएको हो । नगरपालिका भित्रका १ देखि १७ वडाका सम्पूर्ण ब्यक्ति तथा उमेर समुहलाई प्रतिनिधित्व हुने गरि समुह विभाजन गरेर सम्बाद गरिएको छ ।
१८ वर्ष उमेर समुह भन्दा कम, १८ देखि ४० वर्ष उमेर समुह, ४० देखि ६० वर्ष उमेर समुह र ६० वर्ष उमेर समुह भन्दाका जेष्ठ नागरिकको बिचमा अन्तरसम्बाद गरिएको छ । जेष्ठ नागरिकले सिकेका सिप, युवा पुस्ताको शक्ति र बालवालिकाको सिकाईबाट नगरमा नयाँ तथा सृर्जनात्मक कार्य गर्न सकिने भन्दै देवचुली नगरपालिकाले अन्तर पुस्ता सिप हस्तान्त्रणको आयोजना गरेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।
कार्यक्रममा देवचुली नगरपालिका उप–प्रमुख पार्वता तिवारीले नगरपालिकाले बालवालिका देखि युवा पुस्ताहुँदै जेष्ठ नागरिकको गुनासो अनुशार नै कार्ययोजना बनाउने बताईन् ।
देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठले नगरपालिकाले हरेक उमेर समुहका ब्यक्तिहरुको सुझाव अनुशार नै नगरपालिका अधि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा लैङ्गिक समानता, भौतिक र बौद्धिक विकास, जेष्ठ नागरिक सम्मान, स्थानिय सरकारको सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, लागुपदार्थ दुब्र्यसनी लगाएतको शिर्षकमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागि ब्यक्तिहरुले नगरपालिकाले धेरै राम्रा र उपलब्धिमुलक कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद् ब्यक्त गरेका थिए ।
देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उप–प्रमुख पार्वता तिवारी, नगरप्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, विभिन्न वडाका वडाअध्यक्ष, नगरकार्यपालिका सदश्य, देवचुली नगरपालिका विभाग प्रमुख र विभिन्न उमेर समुहका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।