
काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीलले स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको बताएका छन् । सरकार गठनको दुइवर्षे कार्यकाल पुरा भएकोमा आज संसदमा सम्बोधन गर्दै ओलीले दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको बताए ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडामा आगामी चैतभित्र सक्ने गरी ल्याण्डफिलसाइटको काम अघि बढेको पनि उनले बताए ।
‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे । साथै प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको छ भने ।
प्रधानमन्त्री ओलीले भने, “यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध २६ अर्ब सात करोड ९९ लाख बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।”