
बिदा स्वीकृत नगराई अनुपस्थित हुने तीन जना चिकित्सकहरुलाई सरकारले स्पष्टिकरण सोधेको छ ।
प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा. ढुण्डिराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई सरकारले स्पष्टिकरण लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मार्फत् उनीहरुलाई स्पष्टिकरण सोधिएको छ ।

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका यी तीन बरिष्ठ चिकित्सकलाई नेपाल स्वास्थ्य सेवा ऐन–२०६३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली–२०५५ अनुसार स्पष्टिकरण सोधिएको जनाइएको छ । तर, यी चिकित्सकहरुले राजीनामा दिएर स्वीकृत नभई कार्यालय जान छोडेका हुन् । ढुण्डिराज पौडेल र राजेन्द्र सञ्जेल क्षेत्री वीर अस्पतालका चिकित्सक हुन् भने बिष्णुप्रसाद पौडेल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत थिए ।
बीर अस्पतालका निर्देशक केदारप्रसाद सेञ्चुरीले कार्यालयमा राजीनामा आएको बताए । तर, थप कार्बाहीबारे औपचारिक पत्र आइनसकेको उनले बताए । “राजीजनामा आएको छ, यसबारे सरकारको निर्णय प्राप्त भइसकेको छैन ।”
२७ र २८ माघमा बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । राजीनामा दिएर स्वीकृत नभई कार्यालयमा अनुपस्थित भएकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।