
काठमाडौं ।
जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा गएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा भएको सुनुवाइको बहस सकिए पनि समय अभावका कारण अन्तिम फैसला आउन नसकेको हो । फैसला सोमबार आउने छ ।

बलात्कार प्रकरणमा महरा जिल्ला अदालत काठमाडौंको आदेशले कारागार पुगेका हुन् । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो।
महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाण्डौको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले भने जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो । महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ। बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो।