भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकाले ७ महिनाको अवधीमा ४० प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६–०७७ को साउनदेखि माघ मसान्त सम्मको अवधीमा नगरपालिकाले ४० प्रतिशत योजनामा खर्च गरिसकेको देवचुली नगरपालिकाको पाँचौ नगरसभाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बुधवार देखि शुरु भएको २ दिने नगरसभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा, गतवर्ष यसै अवधिमा २७ प्रतिशत खर्च भएकोमा यो वर्ष ४० प्रतिशत खर्च सम्पन्न भैसकेको उल्लेख गरिएको छ ।
नगरसभामा बोल्दै उपस्थित सभाषदहरुले नगरको काममा राजनितिकरण हुन नहुने धारणा राखेका थिए । नगरको विकासमा राजनिति हुदा समावेशी विकास हुन नसकेको भन्दै नगरभित्रका सार्वजनिक जग्गा, कृषकका समस्या, बजार अनुगमन, घरजग्गा नक्शापास, नगरप्रहरीको जिम्मेवारी लगाएतका विषयमा सभाषदहरुले प्रश्न गरेका थिए ।
नगरसभालाई सम्बोधन गर्दै देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले नगरभित्रका विविध समस्या समाधानमा सकृयतापूर्वक काम गरिरहेको बताउनुभयो । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले पहल गरिरहेको बताउदै उपप्रमुख तिवारीले बजार अनुगमनमा अब नगरपालिका अघि बढ्ने जानकारी दिनुभयो ।
सभामा उठेका प्रश्नको जवाफ दिदै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जनता, जनप्रतिनिधी र कर्मचारीबिच सहकार्य र बुझाईमा एकरुपता हुन आवश्यक रहेको बताउनुभयो । भुसालले नगरपालिकाको दलदले क्षेत्रमा रहेको ३ विगाहा सार्वजनिक जग्गालाई सिमाङ्कन गर्न सफल भएको र अन्य ऐलेनी तथा सार्वजनिक जग्गालाई पनि नगरपालिकाले सिमाङ्कन र संरक्षण गर्ने बताउनुभयो । साथै सरकारी प्रयोजनका लागि नगरपालिकामा रहेको सवारी दुरुपयोग भएको भन्ने प्रश्नमा अधिकृत भुसालले दुरुपयोग भएको भेटेमा कानुनी कारवाही गरिने समेत दाबी गर्नुभयो ।
नगरसभाका अध्यक्ष एंवम् देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले नगरको निर्णय र काममा कुनै राजनिति नभएको प्रष्ट पार्नुभएको छ । नगरकार्यपालिकामा सधै सर्वसम्मत निर्णय प्राप्त गरेका विषमा मात्रै योजना अधि बढेको बताउदै बिकासको काममा नगरभित्र कहिल्यै राजनिति नहुने दाबी गर्नुभयो । साथै सार्वजनिक जग्गा संरक्षण गर्न स्थानिय सरकार अधि बढ्दा सिडियो कार्यालयबाट सहयोग नभएको मेयर श्रेष्ठले बताउनुभएको छ । नगरपालिकाले सिडियो कार्यालयलाई सार्वजनिक सम्पत्ती संरक्षणमा जानकारी गराउदा सिडियो कार्यालयबाट वास्ता नभएको बताउनुभएको हो । नगरपालिकासँग जग्गा सिमाङ्कन गर्न प्रर्याप्त जनशत्ति नहुदा प्रभावकारी रुपमा अघि बढ्न नसकेको समेत प्रमुख श्रेष्ठले बताउनुभयो ।
(भोलि) बिहिवार सम्म चल्ने नगरसभामको पहिलो दिन देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, जिल्ला समन्वय समिति सदस्य एंवम जनप्रतिनिधी खिमा सारु, देवचुली नगरपालिका प्रवत्ता एंव वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, सम्पूर्ण वडाका वडाअध्यक्ष, नगर सभा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी तथा पत्रकारहरको सहभागिता रहेको थियो ।