काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेकपा नेताहरुले बालुवाटारलाई दबाब दिएका छन्। घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनलाई तुरुन्तै मन्त्री पदबाट हटाउन नेकपा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ।
बिहीबार बिहानदेखि नै प्रधानमन्त्री ओलीलाई फोनबाट र भेटेर उनलाई बर्खास्त गर्न नेताहरूले सुझाएका हुन्। उनले घुस मागेको अडियोमा प्रष्ट सुनिएकाले तत्काल बर्खास्त गरी थप अनुसन्धान गर्नसमेत केही नेताले माग गरेको बुझिएको छ।
यही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त विषयलाई लिएर नेकपा नेताहरुबीच छलफल भइरहेको पुष्टि गरे। उनले भने, ‘नेताहरुबीच छलफल र भेटघाट भइरहेको छ। तर, कुनै निर्णय भइसकेको छैन ।
राजिनामा माग्ने तयारी भइनसकेको उनले बताए । मन्त्री बाँस्कोटा कञ्चनपुरमा भएकाले उनका कुरा सुनेर निक्र्यौलमा पुग्ने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ। थापाले भने, ‘उहाँ कञ्चनपुरमा हुनुहुन्छ। उहाँले आफ्नो कुरा राख्नुहुन्छ । त्यसपछि अरु छलफल होला।’
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुस मागेको अडियो बुधबार सार्वजनिक भएको थियो।