नवलपुर ।
कोरोना भाईरसका कारण विभिन्न गौरबका आयोजनामा प्रभाव परिरहेको समयमा नारायणगढ–बुटवल सडक विस्तारमा पनि प्रभाव परेको छ । चिनमा फैलिएको कोभिड १९ नामक कोरोना भाईरसले छुट्टिमा गएका जनशक्ति नफर्किदा र आवश्यक थप जनशक्ति पनि आउन नसक्दा समस्या भएको आयोजनाका पश्चिम खण्डका प्रवक्ता युवराज पाण्डेले जानकारी दिनुभयो । चार लेनको सडक विस्तारका लागी चाईना स्टेट कन्स्ट्रक्सनले जिम्मा पाएको छ । चिनबाटै ल्याउनपुर्ने प्राविधिक जनशक्ति र प्रशासनिक फाँटका जनशक्ति नआउदा काम गर्न समस्या उत्पन्न भएको पाण्डेले बताउनुभयो ।
आयोजनाको पश्चिम खण्डमा चाईना स्टेटले प्राविधिक र प्रशासनिक क्षेत्रका मुख्य पदमा चिनियाँ कामदार नै राखेकाले उनिहरु छिट्टै नफर्किए काम गर्न असहज हुनेछ । अहिले आयोजनाले सडक दायाँबायाँका रुख काट्ने र ईन्वेल्मेन्टको काम गरिरहेको छ । आयोजनाको ठेक्का सम्झौतामा कम्तीमा १० प्रतिशत कामदार स्थानीय हुनुपर्ने भएपनि अहिले तोकिएभन्दा बढिनै स्थानिय कामदार आयोजनामा कार्यरत रहेका छन् । केही चिनियाँ कामदार छोटो छुट्टिमा घर गएको र केही कामदार कागजपत्र नमिल्दा सच्चाउन गएका थिए ।
तर उनिहरु कोराना भाईरसको संक्रमण फैलिएपछि भने उतै अड्किएका छन् । जसका कारण आयोजनाको प्रशासनिक फाँटका काम अगाडी बढाउन पनि समस्या भएको चाईना स्टेटले जनाएको छ । आयोजनामा १५ जना जति चिनियाँ कामदार कार्यरत रहेको भएपनि अहिले आधा जति चीनतिर गएका हुन् । गत वर्षको चैत्र ८ गते प्रधानमन्त्री केपि शर्मा ओलीले शिलन्यास गर्नुभएको गौरबको यस आयोजना २०८० साल साउन २० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । तर ढिलो गरि काम सुरु हुनु र अहिले चिनियाँ कामदार समयमै कार्यस्थलमा आउन नसक्नुले पनि आयोजनाको कामले सोचे अनुरुप गति लिन सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि नारायणगढसम्म १ सय १३ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि दाउन्ने पूर्व गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ बनाएर काम भईरहेको छ ।