भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकाको विभिन्न वडा कार्यालयहरु यतिवेला धमाधम समुद्घाटन भैरहेका छन् । यसैक्रममा आज बुधवार देवचुली नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन पनि समुद्घाटन भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष हेमराज दवाडीको अध्यक्षता तथा देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा कार्यालय भवन समुद्घाटन भएको हो । कार्यक्रममा प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका अध्यक्ष एंव देवचुली नगरपालिका वडा नम्बर १४ वडा अध्यक्ष दवाडीले वडा भित्र सार्वजनिक जग्गाको अभावमा सार्वजनिक विषयका क्रियाकलाप (वडा कार्यालय निमार्ण) लगाएत भौतिक संरचना निमार्ण गर्न समस्या देखिएको जानकारी दिनुभएको थियो । तर समाजसेवी जग्गादाता प्रेमराज बसेलको परिवारले १ कठ्ठा ३ धुर जग्गा उपलब्ध गराएर केन्द्रको सेवालाई वडामा ल्याउन सहयोग गर्नुभएको भन्दै दानबिर परिवारलाई अध्यक्ष दवाडीले धन्यवाद दिनुभएको छ ।
जनज्योती मार्ग तिसघरेमा निमार्ण भएको वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रममा बोल्दै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले नगरपालिकाको अन्य वडाको तुलनामा वडा नम्बर १४ हरेक सेवा सुविद्याले सम्पन्नशाली रहेको बताउनुभयो । ब्यवस्थित शहरी विकासको नमुना वडाका रुपमा १४ नम्बर वडा रहेको भुसालको दाबी छ ।
कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका प्रमुख पूर्ण कुमार श्रेष्ठले वडा कार्यालय निमार्ण गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी ब्यक्तिहरुलाई धन्यवाद दिनुभएको छ । साथै प्रमुख श्रेष्ठले देवचुली नगरपालिका अन्य नगरपालिकाको तुलनामा आयस्रोतमा कमजोर रहेको बताउनुभएको छ । अन्य नगरपालिकामा खोलानालाबाट प्रर्याप्त आम्दानि गरी नगरको विकासमा लगानी गरीरहेको जानकारी गराउदै यस नगरमा आन्तरिक स्रोतको अभावमा नगरभित्र प्रर्याप्त मात्रामा विकास गर्न नसकिएको बताउनुभयो । साथै नगरको काममा कहिल्यै राजनिति नभएको उल्लेख गर्दै प्रमुख श्रेष्ठले कार्यपालिकामा सर्वसम्मत निर्णयलाई मात्रै कार्यान्वयनमा अधि बढाईएको जानकारी दिनुभयो ।
वडा समुद्घाटन कार्यक्रममा बोल्दै जग्गा उपलब्ध गराउने जग्गा दाता प्रेमराज बसेलले आफ्नो वडाका वडाबासीको लागि जग्गा उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जग्गा उपलब्ध गराउने ब्यक्ति, नगरपालिका कर्मचारी, जग्गा उपलब्ध गराउन सहयोग गर्ने समाजसेवी ब्यत्तित्वहरुलाई खादा तथा दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले वडाबाटै सेवा सुचारु हुनेहुँदा छिटो र सहज रुपमा सेवा पाउनेमा बिश्वास ब्यक्त गरेका छन् ।
कार्यक्रममा देवचुली नगरपालिका मेयर पूर्ण कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, देवचुली १४ वडा अध्यक्ष हेमराज दवाडी, नगरप्रवत्ता एंव देवचुली १३ वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्री, जग्गादाता प्रेमराज वसेल, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिका कर्मचारी, स्थानिय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।