
काठमाडौं।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन खोज्ने आकांक्षीहरुको दौडाहा सुरु भएको छ । पार्टीले १४औं महाधिवेशनको कार्यकालिका ल्याइसकेको सन्दर्भमा कांग्रेसको ७० वर्षे इतिहासको अधिकांश कालखन्डमा नेतृत्व गरिसकेको कोइराला परिवार यसपटक फेरि विरासत फर्काउने कसरतमा जुटेको छ ।

नेपाली कांग्रेसले १४औं महाधिवेशन २०७७ साल फागुनका लागि तय गरेको छ । तत्कालीन राणा शासनविरुद्ध संघर्ष गर्दै प्रजातन्त्र प्राप्तिका लागि सन् २००३ सालमा स्थापना भएको ऐतिहासिक पार्टीको महाधिवेशन पार्टी नेता तथा कार्यकर्ताहरुको मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको विशेष चासो रहने गर्दछ ।
पार्टीको नेतृत्वमा आउने आकांक्षीहरुको दौडधुप तीव्र हुन थालेको छ । १३औं महाधिवेशनमा नेतृत्व लिन नसकेको कांग्रेसको पर्यायवाची ठान्ने कोइराला परिवारका सदस्यहरु अबको महाधिवेशनबाट नेतृत्व लिने कसरतमा जुटेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाका पुत्र तथा हालका महामन्त्री शशांक कोइराला र अर्का नेता शेखर कोइरालामा नेतृत्वको आकांक्षा देखिएको छ ।
महामन्त्री कोइराला यसपटक विरासत फर्काउने गरी कांग्रेसको राजनीतिमा कोइराला परिवारले हस्तक्षेप गर्ने सुनाउँछन् । स्थापनापछि कांग्रेसको नेतृत्व जम्मा–जम्मी २६ वर्षमात्र कोइराला परिवारबाट बाहिर गएको पाइन्छ । पहिलो अधिवेशनबाट मातृका कोइराला र दोस्रो अधिवेशनबाट बीपी कोइरालाले नेतृत्व गरेको पार्टीमा सन् १९५६ देखि १९५७ सम्म एक वर्ष सुवर्णशमशेरले नेतृत्व गरे ।
फेरि चौथो महाधिवेशनबाट बीपी कोइराला नै नेतृत्वमा आए । कृष्णप्रसाद भट्टराईले पनि लामो समय कांग्रेसको नेतृत्व लिए । त्यसपछि लगातार गिरिजाप्रसाद कोइरालाले पार्टी हाँके । उनीपछि सुशील कोइराला नेतृत्वमा पुगे ।
२०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी नै परेन । अहिले शशांक, शेखर र सुजाता कोइराला एउटै मञ्चमा देखिन थालेका छन् । तर, कोइरालामध्ये एकजनाले पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ ।
मुलुकमा लामो समय शासन गरेको कांग्रेस अहिले मरिचजस्तै खुम्चिएर संसदमा एकतिहाइको हैसियतमा पनि छैन । यो बेला नेतृत्वमा आउने पात्र जनताले विश्वास र भरोसा गर्नेखालको हुनुपर्दछ । अन्यथा जनमतबिनाको पार्टीको नेतृत्वको लडाईं निरर्थक र व्यर्थ नहोला भन्न सकिन्न ।