भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले विभिन्न ६ विधेयक सर्वसम्मत पारित गरेको छ । आज (शुक्रवार) देवचुली नगरपालिकाको सभाहलमा सम्पन्न पाँचौ नगरसभामा प्रस्तुत विभिन्न ६ विधेयक सर्वसम्मत पारित गरेको हो ।
शिक्षा विधेयक, प्रमाणीकरण विधेयक, फोहोरमैला ब्यवस्थापन विधेयक, विपत जोखिम न्युनिकरण तथा ब्यवस्थापन विधेयक, सार्वजनिक निजी साझेदारी विधेयक र सहकारी विधेयक गरि जम्मा ६ विधेयक नगरपालिकाले पाँचौ नगरसभामा पारित गरेको छ । विधेयक विद्यायन समिति संयोजक दिनानाथ भुसालले प्रस्तुत गर्नुभएको विधेयक प्रस्तावलाई नगरप्रमुख एंव सभाका अध्यक्ष पूर्णकुमार श्रेष्ठले पारित भएको घोषणा गर्नुभएको थियो ।
नगर शिक्षा ऐन–२०७६, प्रमाणिकरण सम्बन्धि ऐन–२०७६, फोहोर मैला ब्यवस्थापन ऐन–२०७६, नगर विपत जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन–२०७६, सार्वजनिक निजी साझेदारी ऐन–२०७६, र देवचुली नगरपालिकाको सहकारी ऐन–२०७५ विधेयक संसोधन सहित पारित भएको नगर प्रमुख श्रेष्ठले घोषणा गर्नुभएको हो ।
साथै प्रमुख श्रेष्ठले देवचुली नगरका सम्पूर्ण १७ वडाकै वडा केन्द्र सभावमा प्रस्ताव राख्दै पारित भएको घोषणा गर्नुभएको छ ।
विभिन्न प्रस्तावित विधेयकमा छलफल गर्दै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले आजको सभामा पारित भएको प्रस्तावले १० वर्ष पछि देवचुली नगरपालिकामा सकरात्मक प्रभाव देखिने विश्वास लिनुभएको छ । शिक्षा विधेयक, फोहोरमैला ब्यवस्थापन विधेयक लगाएतका विषयमा अधिकृत भुसालले तत्काल फाईदा भन्दा पनि कालान्तरमा नगरको समग्र विकासका लागि पारित भएका विधेयक र बनेका ऐनले नगरको मुहार फेरिने बताउनुभयो ।
सभामा नगरप्रमुख श्रेष्ठले ३ वर्ष समयावधीमा जनप्रतिनिधीले सम्पन्न गरेका केहि प्रमुख कामहरुको जानकारी गराउनुभएको थियो । जसमा नगर प्रोफाईल तयार, नगर गुरुयोजना, सामाजिक शिक्षा नेपाली भाषामा अध्यापन, फोहोरमैला ब्यवस्थापन केन्द्र, आधुनिक दाहासंस्कार ब्यवस्थापन, देवचुली डाँडामा पर्यटन पुर्वाधार अन्र्तगत पदमार्ग र खानेपानी, सडक निमार्णमा स्थानिय खोलाको खनिज उत्खनन् अनुमति प्रकृया, औधोगिक ग्राम स्थापना, नगर रंगशाला डिपिआर लगाएतका काम सम्पन्न गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
फाल्गुन ७ गते भएको नगरसभामा विधेयक अध्ययन गर्न नगरसभा सदस्यहरुले १० दिनको समय माग गरेपछि आज विधेयक प्रस्तुत गरिएको थियो ।
देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको पाँचौ नगरसभा समापन समारोहमा उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, देवचुली नगरपालिका प्रवत्ता एंव वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, सम्पूर्ण वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी तथा पत्रकारहरको सहभागिता रहेको थियो ।