
काठमाडौं ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीका केन्द्रीय विभाग विस्तारसँगै आमन्त्रित केन्द्रीय सदस्यहरुको मनोनयन गरेको भन्दै असन्तुष्ट इतर समूह फेरि गुटगत छलफलमा जुटेको छ ।

१४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि पार्टीका केन्द्रीय विभाग गठन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको पौडेल समूह चाक्सीबारीमा गुटगत छलफलमा जुटेको हो ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, सरिता प्रसाईं, बद्रि पाण्डेसहितका कयौं नेताहरु सहभागी छन् ।
गत शनिबार सभापति देउवाले पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरुसमेत समावेश गरेर पार्टीका १३ वटा केन्द्रीय विभाग विस्तारसँगै पाँच जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पौडेल समूह असन्तुष्ट छ ।
पौडेल समूहले चाक्सीबारीको छलफलमा सिटौला समूहलाई पनि बोलाएको छैन ।