
काठमाडौं
विश्व बैंकले कोभिड–१९(नोभेल कोरोना भाइरस) नामक कोरोना भाइरस प्रभावित मुलुकलाई लक्षित गरेर १२ अर्ब डलर दिने घोषणा गरेको छ। विश्वका ६० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फलिएर जनस्वास्वास्थ्य र आर्थिक संकट परिरहेको अवस्थामा उक्त सहयोग गर्ने घोषणा गरेको हो।

कोरोना फैलिएका मुलुकमा यो सहयोग रकम प्रभावकारी हुने विश्व बैंकले बताएको छ। नयाँ फास्ट ट्रयाक प्याकेजमार्फत विश्व बैंक समूहले विकासोन्मुख देशहरुलाई स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न मद्दत पुर्याउने दाबी गरेको छ।
बैंकका अनुसार यो सहयोगले स्वास्थ्य सेवामा राम्रो पहुँचको साथ मानिसहरुलाई महामारीबाट जोगाउन, सार्वजनिक स्वास्थ्यलाई प्रोत्साहन गर्न र ती मुलुकको अर्थव्यवस्थामा सकारात्मक प्रभाव पार्न सघाउनेछ। विश्व बैंकको आर्थिक सहयोग रकम मध्ये ८ अर्ब डलर रकम अन्य तीन स्रोतबाट लिइएको छ।
जसअन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)बाट ६ अर्ब डलर, १.३ अर्ब डलर इन्टरनेशनल डेभलप्मेन्ट एसोसियसन (आइडिए), इनटरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलप्मेन्टले (आइबिआरडी)बाट २.७ अर्ब डलर रहेको छ।
उक्त सहयोगमा नीतिगत सल्लाह र विश्वव्यापी विशेषज्ञता र स्थानीय ज्ञानको बारेमा प्राविधिक सहायता पनि समावेश गरिएको छ। कोरोना भाइरससँग लड्न विश्व बैंकले सक्रिय रुपमा लाग्ने दाबी गरेको छ।
विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड मालपासले भनेका छन् ‘उक्त फास्ट ट्रयाक सहयोगले कोरोना फैलिएका मुलकमा सहज हुने विश्वास लिएका छौं, यस युद्धमा हामी सक्रियता पूर्वक लाग्नेछौं।’