काठमाडौं :
सुनको भाउले बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन बिहीबार बुधबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर तोलाको ८० हजार ७०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला २०० रुपैयाँले नै बढेर ८० हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको भाउ प्रतितोला ८० हजार २०० रुपैयाँ थियो ।
यता, चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसाही महासंघले जानकारी गराएको छ । सुनको भाउ बढ्नुको प्रमुख कारण कोरोना भाइरसलाई मानिएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ ।
विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ । किन भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ । सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफासमेत जोडी बिक्री गर्छन् ।