भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका कार्यालयमा प्रवेश गर्दा अनिवार्य सावुन पानिले हात धुनुपर्ने भएको छ । विश्वब्यापी रुपमा कोरोना भाईरसको संक्रमण बढेसँगै देवचुली नगरपालिकाले कार्यालय प्रवेश गर्ने हरेक ब्यक्तिलाई अनिवार्य सावुन पानिले हात धुन अनुरोध गरेको हो ।
नगरपालिका प्रवेशद्धारमा नै सावुन पानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्नुहुन अनुरोध छ लेखिएको पम्प्लेट टाँसिएको छ । साथै कोरोना भाईरसको संभावित संक्रमणबाट बचौँ र बचाऔँ लेखिएको छ । उक्त पम्प्लेटको बेवास्ता गरि कार्यालय प्रवेश गर्ने ब्यक्तिहरुलाई भने सुरक्षा गार्डले अनिवार्य सावुन पानीले हात धुन आग्रह गर्छन् ।
उक्त कार्यले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीबाट संक्रमणको जोखिम पनि कम हुने र सेवाग्राही आफ्नो घरमा प्रवेश गर्दा पनि सावुन पानिले हात धुने बानि बसाल्ने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरपालिकाले कोरोनाको संक्रमणबाट सुरक्षित रहन पूर्वसर्तकता समेत अपनाउन शुरु गरेको छ । कार्यापालिका छलफलमा कोरोना रेस्क्यु रेसपोन्स टिम, कोरोना सुरक्षित भवन लगाएतमा निर्णय गरी अधि बढ्ने समेत भुसालले बताउनुभयो । देवचुली नगरपालिकाले हरेक वडामा माईकिङ गर्ने, पर्चापम्प्लेट टाँस्ने तयारी गरेको छ ।
कोरोना भाइरसका संसारभरी ९५ हजार ३६ व्यक्ति संक्रमित छन् । यसका कारण ३ हजार २ सय ८३ को मृत्यु भइसकेको छ ।