
भिम भुसाल, नवलपुर ।
दादुरा–रुबेला खोप अभियान नवलपुरमा चैत्र ३ गते देखि शुरु हुने भएको छ । शुक्रवार जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गर्दै नवलपुरमा दुई चरण गरि दादुरा–रुबेला खोप अभियान गरिने जनाएको हो । चैत्र ३ गतेदेखि ११ गते सम्म नवलपुरको देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका, विनयी–त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान गर्ने भएको छ । त्यसैगरि दोस्रो चरण अन्र्तगत चैत्र १६ गते देखि २४ गते सम्म गैंडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।

हाल सम्म नेपालमा २१ प्रतिशत बालवालिका पूर्ण खोपबाट बञ्चित रहेका छन् । सन् २०१६ को NDHS को तथ्याङ्क अनुशार नेपालमा ७८ प्रतिशत बालवालिकाले पूर्ण खोप पाएका छन् भने २१ प्रतिशत बालवालिका आंशिक खोप र १ प्रतिशत बालवालिका शुन्य डोजको अवस्थामा रहेका छन् । नवलपुरको तथ्याङ्क अनुशार जिल्लामा पूर्ण खोप करिव ७३ प्रतिशत बालवालिकाले प्राप्त गरेको तथ्याङ्क छ । जसमा बालमैत्री नगरपालिका देवचुलीमा भने पूर्ण खोप पाउने बालवालिका ६९ प्रतिशत रहेको तथ्याङ्क रहेको छ ।
२०७६ साउन देखि पौष सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा दादुरा–रुबेला अन्तर्गतको खोप पहिलो चरणमा वार्षिक ८० प्रतिशत बालवालिकाले लिएका छन् भने दोस्रो चरण अन्तर्गत ८३ प्रतिशत बालवालिकाले दादुरा–रुबेला अन्तर्गतको खोप लिएका छन् । जसमा देवचुली नगरपालिकामा भने पहिलो चरणमा वार्षिक ७३ प्रतिशत बालवालिकाले दादुरा–रुबेलाको खोप लिएको तथ्याङ्क छ भने दोस्रो चरणमा वार्षिक ८२ प्रतिशत बालवालिकाले खोप लिएको लथ्याङ्क रहेको छ ।
९ देखि ५९ महिनाका सबै बालवालिकालाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा–रुबेला खोप लगाउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।