
काठमाडौं।
परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ। कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन्।

शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन्। उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार लेखेको थियो।
विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन्। परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन्। उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन्।
नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन्। विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए। २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन्।