
गैडाकोट ।
गैडाकोट १ नवलपुरमा रहेको प्रगति टोल महिला विकास समूहको आज सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा पार्वती ढकाल, उपाध्यक्षमा सरिता हुमागाई, सचिवमा पुष्पा खनाल, कोषध्यक्षमा मिना केसी, सहसचिवमा कल्पना शर्मा पौडेल चयन हुनुभएको छ। सदस्यहरुमा सरिता लामिछाने, सुर्यकुमारी रानाभाट, विनीमाया थापा मगर, सीता उपाध्याय,कल्पना सापकोटा,दुर्गा सापकोटा,खीमा कुमारी पौडेल,टिकीसरा गुरुङ रहनुभएको छ। अधिवेशनले स्वेच्छा पौडेलको संयोजक रहने गरी सीता पौडेल र जानुका भट्टराई सदस्य रहेको लेखा समिति र निवर्तमान अध्यक्ष लक्ष्मी आचार्य संयोजक रहेको सल्लाहाकार समिति चयन गरेको छ भने जसको सदस्यमा तारा गिरी र देवी सापकोटा रहनुभएको छ । अधिवेशनले निर्मला अधिकारी संयोजक रहने गरी सांस्कृतिक संयोजक पनि चयन गरेको छ । प्रगति टोल विकास संस्थाका उपाध्यक्ष एकराज सापकोटा संयोजक, वसन्ती काफ्ले ढकाल र लक्ष्मण कडेँल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतबाट कार्यसमिति चयन गरेको हो । नयाँ समितिलाई वधाई दिँदै उपाध्यक्ष सापकोटाले सवै जना मिलेर टोलको विकासमा मनै देखि लाग्न सुझाव दिनुभयो ।

त्यसअघि अध्यक्ष लक्ष्मी आचार्यको सभापतित्वमा सम्पन्न भएको प्रथम साधारणसभामा बोल्दै प्रमुख अतिथि गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले बचत भएको रकम आयआर्जन हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सीप सिकेर उत्पादन हुने जुनसुकै कार्यक्रममा वडाले बजेट विनियोजन गर्ने बताउनुभयो । वडालाई वालमैत्री घोषणा गर्न प्रगति टोल महिला समुहले पुर्याएको योगदानको कदर गर्दै क्षमता विकास सँगै आत्मनिर्भर सहित उत्पादन हुने क्षेत्रमा लगानी बढाउन आग्रह सहित बचत कोष वढाउन सुझाव दिनुभयो । वडामा प्राकृतिक धार्मिक सम्पदा अथाहा रहेको भन्दै संस्कृतिबाट त्यसको संरक्षण गर्न आग्रह गर्नुभयो । भजनकिर्तनमा अब्बल रहेको समूहलाई एम्स एजुकेशनका प्रोपाइटर कृष्ण कडेँलले २ वटा मादल सहित वाध्यवाधनको सेट सहयोग गर्नुभएको थियो । साथै बचत कोष वृद्धि गर्न उक्त टोलका विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था गरिदिने र यदि विदेश अध्ययनको भिषा लागे प्रति भिसा २ हजार ५ सय रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । जसमा उक्त समूहलाई १ हजार उपलब्ध गराउने उहाँको भनाई छ। त्यस्तै प्रगति टोल विकास संस्थाका अध्यक्ष भरतवावु कडेँलले पनि सरस्वती निकेतनमा हुने प्रति भर्नाको रु. १० बचत कोषको लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले कोरोना भाइरस संक्रमणबाट बच्न महिला दिदीवहिनीहरुले घरदेखि टोल र समुदाय सरसफाइमा ध्यान दिन आग्रह गर्दै आमा समूह निष्कृय वनाई महिला समुहलाई सक्रिय गराउन आग्रह गर्नुभयो । कार्यक्रममा वडा सदस्य एवम न्यायिक समिति सदस्य सुरेन्द्र रेग्मीले विवाद रहित वडा निर्माणमा सहयोग गर्न आग्रह सहित न्यायिक समितीको काम र न्यायिक प्रकृयाको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा सदस्य सीता सापकोटा, निर्मला ढकाल, शोभाकान्त ढकालले बोल्नुभएको थियो ।
सभामा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सावित्रि पाठकले टोललाई मदिरा मुक्त र प्लास्टीक निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई तिव्र पार्दै नेतृत्व सहित सीप मुलक तालिम संचालन गर्ने बताउनुभयो । कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मिना केसीले हालसम्म २ लाख ६९ हजार ७८ रुपैया बचत संकलन भएको र नियमिति बचत गर्न सवै सदस्यहरुलाई आग्रह गर्नुभयो । बजारमा कालोबजारी वढेको र शुद्ध खाद्यपदार्थ पाउन कठिन भइरहेको वेला सवैको सक्रियतामा सहकारीको माध्यमबाट पसल संचालन गर्न सकिने योजना अघि वढाउन सुझाव दिनुभयो । २०७५ श्रावण मा गठन भएको समूहमा ११८ घर सदस्य रहेका छन् । सचिव सावित्रि पाठकले संचालन गर्नुभएको कार्यक्रमको वन्द सत्रमा लक्ष्मण कडेँलले सहजीकरण गर्नुभएको थियो ।