
नवीन पौडेल, परासी ।
पश्चिम नवलपरासीको बर्दघाट स्थित पारिजात सामुदायिक वनमा सयौंको संख्यामा रूख काटिएका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस क्षेत्रमा सिसौ, साल, किटका रूख काटिएका हुन् ।

स्थानीयले शनिबार दिउँसो रूख काटिएको बताए पनि अहिलेसम्म संलग्न पत्ता लागेका छैनन् । डिभिजन वन र सामुदायिक वनले अज्ञात समूहले वन फँडानी गरेको बताए । स्थानीयले वन क्षेत्रमा भौतिक संरचना बनाउन उपभोक्ताले फँडानी गरेको आरोप लगाएका छन् । अहिलेसम्म करिब दुई बिघा क्षेत्रफलमा रहेका १ सय १९ रूख काटिएका छन् ।
प्रदेश ५ सरकारले स्मार्ट शौचालय निर्माण गर्न जग्गा माग गरेको स्थानका रूख काटिएका हुन् । पूर्वी नाकामा स्मार्ट शौचालय निर्माण गर्न प्रदेशले स्थानीय तहसँग जग्गा माग गरेको थियो । सामुदायिक वनका अध्यक्ष चुरामणि भण्डारी र डिभिजन वन प्रमुख रामनारायण शाहले रूख कटानबारे ढिलो मात्रै जानकारी पाएकाले कसले फँडानी गर्यो भन्नेबारे यकिनसाथ भन्न नसक्ने बताए । ‘बर्दघाट नगरपालिकाले शौचालय बनाउन जग्गा मागेको थियो,’ वन उपभोक्ता समूहका अध्यक्ष भण्डारीले भने, ‘जग्गा दिने प्रक्रिया सुरु गरेका थियौं । अहिले एकाएक रूख काटिएको छ ।
उपभोक्ताले रूख काटेका छैनन् । कसले काट्यो भनेर अनुसन्धानहुँदै छ ।’ नगरपालिकाको मागपत्र अनुसार सामुदायिक वनले २१ औं वार्षिक साधारणसभाबाट शौचालय बनाउन वन ऐन विपरीत नहुने गरी जग्गा उपलब्ध गराउन सिफारिस दिने निर्णय गरेको थियो । डिभिजन वन प्रमुख शाहले सिफारिस पत्रका आधारमा आफूले वन ऐन, २०७६ को दफा ४२ बमोजिम प्रक्रिया पूरा गरेर मात्र भौतिक निर्माण गर्न पाइने जानकारी गराएको बताए । ‘शौचालय निर्माण गर्ने स्थानमा एकाएक रूख काटिनु वन ऐनविपरीत हो,’उनले भने, ‘दोषी पत्ता लगाउने काम हुँदै छ ।’
नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले प्रदेश सरकारको कार्यक्रम अनुसार शौचालय निर्माणका लागि नियमानुसार सामुदायिक वनसँग जग्गा माग गरिएको जानकारी दिए । ‘पूर्व–पश्चिम राजमार्ग चौडा बनाउने कामअन्तर्गत अहिले सडक छेउका रूख कटान गरिएको छ,’ उनले भने, ‘सडक डिभिजनले रूख कटान गरेको देखेर स्थानीयले पनि केही बोटविरुवा फँडानी गरे होलान् । स्थानीयलाई सिमाना थाहा नभएर यस्तो गरेको हुन सक्छ ।’