
जनकपुरधाम ।
होली पर्वको अवसरमा अत्यधिक मदिरा सेवन गरेर धनुषामा पछिल्ला ३ दिनमा ८ जनाको मृत्यु भएको छ भने गम्भीर बिरामी भएर ६ जना उपचारमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मृतकको संख्या ८ जना मात्रै रहेको जनाएका छन् ।

डीएसपी कार्कीका अनुसार फागुन २९ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल र ६५ वर्षीय गुदरी महराको मृत्यु भएको हो ।
फागुन ३० गते वडा नम्बर १ बस्ने ३६ वर्षीय रामनारायण महरा, २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल, जनकपुरधाम उपमहानगरपालिका–२० को देवपुरा रुपैठाका ३० वर्षीय राजु महराको मृत्यु भएको हो । रमदैयाका बेचन महराका छोरीज्वाइँ रहेका राजु महराको ससुराली घरमा आएको बेला मदिरा सेवन गरेर मृत्यु भएको हो । चैत्र १ गते रमदैयाका ६५ वर्षीय श्रीदेव यादवको समेत मृत्यु भएको छ । सरकारी समाचार संस्था राससले ११ जनाको मृत्यु भएको समाचार प्रेषित गरेपनि स्थानीय प्रहरीले भने ८ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।
डीएसपी कार्कीका अनुसार अत्यधिक मदिरा सेवन गरेर गम्भीर घाइते भएका ६ जनाको रम्दैयास्थित जानकी मेडिकल कलेज र जनकपुरको सोही मेडिकल कलेजका सिटी अस्पतालमा उपचार भइरहेको छ । रम्दैयाका २३ वर्षीय प्रदिप सदा, ३७ वर्षीय राम इश्वर महरा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, ५० वर्षीय सिताराम यादवको उपचार जारी रहेको छ ।
अनुसन्धानको क्रममा गाउँ तथा क्षेत्रमा अवैध मादक पदार्थसहित रक्सी बेचबिखन गर्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्कीले बताए । महोत्तरीको भंगहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ बर्षिय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डललाई पक्राउ गरिएको छ ।
रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह, जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शितलदेवी यादवलाई समेत पक्राउ गरिएको छ । अवैध विषाक्त घरेलु मदिरा सेवन गरेका कारण नै स्थानीयको मृत्यु भएको बताइएको छ तर मृत्युको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान जारी नै रहेको डीएसपी कार्कीले बताए ।