भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा दादुरा–रुवेला खोप अभियान शुरु भएको छ । आज सोमबार देखि चैत्र ११ गते सम्म सञ्चालन रहनेगरि नगरका विभिन्न खोप केन्द्रमा एकै साथ खोप अभियान शुरु भएको हो ।
देवचुली १३ मा रहेको कुमारवर्ती आधारभुत विद्यालय खोप केन्द्रमा नगरप्रमुख पूर्णकुमार श्रेष्ठले खोपकर्तालाई दादुरा–रुवेला खोप अभियान कार्ड हस्तान्त्रण गरि अभियानको शुभारम्भ गर्नुभएको थियो । अभियान उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका प्रमुख श्रेष्ठले अत्यन्तै सम्वेदनशिल भएर बालवालिकालाई खोप लगाईदिन खोपकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै स्वास्थ्यकर्ता तथा खोपकर्ताहरुलाई सजग हुन निर्देशन दिनुभएको हो ।
कार्यक्रमका विशेष अतिथि एंव देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले कुनै पनि बालवालिका दादुरा–रुवेला खोप अभियानबाट छुट्न नहुने भन्दै सम्पुर्णले आफ्नो घर, छिमेक तथा गाऊमा रहेका बालवालिकालाई खोप लगाउन खबर गरिदिन समेत अनुरोध गर्नुभएको छ । साथै कारोनाको संक्रमण न्युनिकरण गर्न वालबच्चाको सरसफाई, खानपानमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष देवचुली नगरपालिका १३ वडा अध्यक्ष एंव नगर प्रवत्ता क्याप्टेन डिलबहादुर खत्रीले हरेक बालबच्चाले दादुरा–रुवेला खोप पाउनुपर्ने भन्दै सुचना सम्प्रेषणमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । साथै एक खोपकेन्द्रमा खोप लगाउन छुटेता पनि अर्को खोप केन्द्रमा उपस्थित भएर खोप लगाउन सकिने समेत खत्रीले जानकारी दिनुभयो ।
देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै अभियानमा बालवालिका उपस्थित गराउन र अन्य रोगको संक्रमण देखिएमा वा स्वास्थ्यमा समस्या आएमा समेत खोपकेन्द्रमा आएर आवश्यक सल्लाह लिन सकिने बताउनुभयो ।
आज चैत्र ३ गते देखि १० गते सम्म बिहान १० बजे देखि दिउसो ४ बजे सम्म नगरपालिकाले तोकेको खोप केन्द्रमा, ९ देखि ५ वर्ष सम्मका बालवालिकालाई खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरभित्रर रहेका ९ देखि ५९ महिना उमेर समुहका ४५ सय बालवालिकालाई दादुरा–रुबेला खोप लगाउन ४८ खोप कार्यकर्ता र ९६ स्वयंसेवक खटाईएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।