भिम भुसाल, देवचुली ।
आज भन्दा १४–१५ वर्ष अधिसम्म देशका विभिन्न कुनामा धेरै डेरावालाहरु स्टोभमा खाना बनाउने, टुकि बत्तिको प्रयोग गर्ने गर्थे । जसको लागि मट्टितेल चाहिन्थ्यो । तर बिस्तारै स्टोभ प्रयोगकर्ताको कमि हुदै नेपालमा लोडसेडिङको अन्त्य भएपश्चात मट्टितेल प्रयोगकर्ता ज्यादै न्युन हुदै गए ।
तर पनि पूर्वपश्चिम राजमार्गकै देवचुली नगरपालिकामा भने ४८ घर परिवार ‘मट्टितेल युग’मा बाँचिरहेका छन् । १७ ओटा वडा रहेको देवचुलीमा वडा नम्बर २,३,४,५,६,७,९,११,१५,१६ र १७ का ४८ घर परिवार ‘मट्टितेल युग’मा बाँचिरहेका हुन् ।
‘मट्टितेल नै उनिहरुको मूख्य ईन्धनको आधार हो । देवचुली वडा नम्बर २ मा ५ घर परिवार, वडा नम्बर ३, ५, ९ मा एक–एक घर परिवार, वडा नम्बर ६ र ११ मा दुई– दुई घर परिवार, वडा नम्बर ४ मा आठ घर परिवार, वडा नम्बर ७ र १५ मा तिन–तिन घर परिवार, वडा नम्बर १६ मा छ घर परिवार र वडा नम्बर १७ मा १६ घर परिवारले मूख्य ईन्धनको रुपमा मट्टितेलको प्रयोग गर्दै आएको देवचुली नगरपालिकाको नगर प्रोफाईलमा उल्लेख गरिएको छ । त्यस्तै वडा नम्बर १,८,१०,१२,१३,१४ मा कुनै पनि घर परिवारले मट्टितेलको प्रयोग नगर्ने तथ्याङकमा उल्लेख छ ।
नेपाली समाजमा स्टोभको प्रयोग करिब लोप नै भईसक्दा देवचुलीका स्थानियले अझै पनि मट्टितेललाई मूख्य ईन्धनको रुपमा प्रयोग गरिरहेका छन् । अहिले अधिकांस अर्धग्रामीण क्षेत्रमा समेत एलपी ग्यासको प्रयोग भैरहदा सुगम नगरपालिका कै रुपमा परिचित देवचुलीमा भने मट्टितेल प्रयोगकर्ताहरु भेट्टिएका हुन् ।
विद्युतको पहुँचको विस्तारले पनि मट्टितेलको प्रयोग विस्थापित हुदै गर्दा विद्युत्त नपुगेकै कारण देवचुलीका विभिन्न स्थानका स्थानियहरु मट्टितेलको प्रयोग गर्न बाध्य रहेका छन् ।
१२ हजार २५ घर परिवार रहेको देवचुलीमा ४ प्रतिशत स्थानियहरु ‘मट्टितेल युग’मा बाँचिरहेका छन् ।
देवचुली नगरपालिकामा यस आर्थिकवर्षमा मात्रै ९ कारोड भन्दा धेरैको लागतमा विद्युत्त लाईन विस्तारको काम भैरहेको नगरपालिकाले जनाएको छ । यहि आर्थिक वर्षको अन्तसम्म नगर क्षेत्र भित्रका केही ५–७ घर बाहेक अन्य सम्पुर्णलाई विद्युत्त पुर्याउने लक्ष्य नगरपालिकाले लिएको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरको पहाडी क्षेत्रमा विद्युत्त नपुगेका स्थानले मट्टितेल प्रयोगकर्ताको संख्या देखिएको जनाउदै यस आर्थिक वर्षभित्र विद्युत्त, नगरको सम्पुर्ण क्षेत्रमा पुग्ने प्रमुख प्रशासकिय अधिकृत भुसालको दावी छ ।