चैत ६,
विश्वभर प्रकोपको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट सतर्कत रहन काठमाडौंमा बसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन् । विद्यालय, विश्वविद्यालय बन्द गर्नुका साथै लोक सेवा आयोगका परिक्षाहरु स्थगीत भएपछि विभिन्न कामको शिलशिलामा काठमाडौमा बसेकाहरु गाउँफर्कन थालेका हुन् ।
गाउँफर्कनेहरुको बढेपछि नयाँबसपार्क, कलंकी, बल्खु तथा कोटेश्वर लगायतका ठाउँमा यात्रुहरुको भिड दँशैमा जस्तै बढेको छ । काम सकिएकाहरु काठमाडौंमा बस्दा भिडभाड हुने भएपछि आफ्नो स्वास्थ्य सुरक्षा तथा काठमाडौंमा बस्नै पर्नेहरुलाई सहज बनाउन घरमा जान लागेको उनीहरुको भनाई छ ।
यसका साथै उनीहरुले कोभिड १९ बाट सुरक्षाका लागि सरकारलाई सघाउनका लागि पनि आफूहरु घर जान थालेको बताए । कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले स्कुल, कलेज, विश्वविद्यालय, सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्जनस्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु समयमा ८० हजारको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरीने गरेकोमा आज १ लाख भन्दा धेरै बाहिरीएका छन् ।
हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै २० हजार भन्दा धेरै सार्वजनिक सवारीसाधन काठमाडौंबाट बाहिरिएका छन्। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न यातायात व्यवसायीहरुले आग्रह गरेका छन् ।